काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अबदेखि आफ्नो चुनाव चिह्न ‘घण्टी’ बजाउँदै भोट माग्न नपाउने भएको छ। प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आइतबार निर्वाचन आयोग ले प्रचारप्रसारका क्रममा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न/नगराउन राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरेको हो।
यसअघि रास्वपाका उम्मेदवारहरू घरदैलो तथा चुनावी कार्यक्रममा घण्टी बजाउँदै मत माग्ने गरेका थिए। तर आयोगका अनुसार कतिपय दल वा उम्मेदवारहरूले निर्वाचन चिह्नको प्रचार गर्दा त्यसको भौतिक स्वरूप साथमै बोकी प्रयोग गर्ने क्रममा जनसमुदायको शान्ति र सुव्यवस्थामा प्रतिकूल असर परेको भन्ने सूचना तथा गुनासाहरू प्राप्त भएका छन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले प्राप्त गुनासोका आधारमा यस्तो आग्रह गरिएको जानकारी दिएका छन्। निर्वाचनको वातावरणलाई शान्त, मर्यादित र व्यवस्थित बनाउन आयोगले सबै दल तथा उम्मेदवारलाई नियमको पालना गर्न निर्देशन दिएको छ।
उल्लेखनीय छ कि प्रतिनिधि सभा निर्वाचन यही फागुन २१ गते हुँदैछ।

