काठमाण्डू, आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगितामा नेपाली टोलीले लगातार दोस्रो हार ब्यहोरेको छ ।
बिहीबार सम्पन्न आफ्नो दोस्रो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको हो ।
लगातार तेस्रो जीत हात पारेको नेदरल्यान्ड्स प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुगेको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४० रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ३८ रनमात्र बनाउन सक्यो ।
अघिल्लो खेलजस्तै नेपाली ब्याटरले निराशाजनक प्रदर्शन गरे । कुनै पनि ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन् ।
छैटौं नम्बरमा क्रिज समाल्न आएकी रुवीना क्षेत्रीले सर्वाधिक अविजित ३७ रन बनाइन् । उनले ३२ बलको सामना गरी पाँच चौका पनि हिर्काइन् ।
ओपनर बिन्दू रावल केवल १८ रन बनाउँदै दूर्भाग्यपूर्ण तारिकाले रन आउट हुँदै पेभेलियन फर्किइन् । उनले १५ बलमा चार चौका पनि हिर्काइन् ।
अर्की ओपनर सम्झना खड्का पनि आठ बलमा तीन चौकाको मद्दतले १४ रन बनाउँदै आउट भइन् । उप–कप्तान पूजा महतो पनि आठ रनभन्दा अगाडि बढ्न सकिनन् ।
कप्तान इन्दू बर्मा ६ र काजल श्रेष्ठ चार रनमै आउट भए । कविता जोशीले १८ बलमा दुई चौकाको मद्दतले १३ रन बटुलिन् ।
