काठमाण्डू, प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मङ्गलबार देशभर एकै पटक मनोनयन दर्ता हुँदै छ ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तोकिएको मितिमा मनोयनमा सहभागी हुन सबैमा अपिल गरेको छ ।
योगले निर्वाचन कार्यतालिका संशोधन नहुने पनि प्रस्ट पारेको छ ।
मनोनयनपत्र दर्ताको पूर्वसन्ध्यामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुनेमा कुनै शङ्का उपशङ्का नगर्न पनि आग्रह गरे ।
उनले भने, “निर्वाचनको विकल्प निर्वाचन नै हो । अर्को वैकल्पिक व्यवस्था नभएका हुनाले निर्वाचनमा सबै क्षेत्रबाट सहयोग होस् र निर्वाचन सम्पन्न होस् भन्नेमा सरोकारवाला सबैमा निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ ।”
निर्वाचन घोषणा भएसँगै आयोगले तत्कालदेखि कार्यतालिका बनाई अघि बढिरहेको पनि उनले बताए । माघ ६ गतेको कार्यतालिका पनि कुनै संशोधन नभएको उनले जानकारी दिए ।
कार्यवाहक प्रमुख भण्डारीले भन्नुभयो, “सबै कार्यक्रम चार महिनाअघि प्रकाशित भएको कार्यतालिका अनुसार कार्यसम्पादन भएका छन् ।
अब कुनै पनि विषयवस्तुलाई संशोधन गर्ने थप्ने घटाउनेलगायत काम हुँदैनन् । तोकिएकै समयमा मनोनयनपत्र दाखिल हुन्छ र निर्वाचन सम्पन्न हुन्छ ।
आयोग यसैमा ढुक्क छ ।”नेपाली कांग्रेसको विवादका विषयमा अदालतमा विचाराधीन मुद्दामा आयोगले कुनै टिप्पणी नगर्ने पनि उनले बताए ।
अदालतले जारी गर्ने आदेश सबैले मान्नुपर्ने तर अहिल्यै अदालतको कामकारबाहीमा टिप्पणी नगर्ने उनको भनाइ छ ।
नागरिकले आफ्नो प्रतिनिधि छान्ने लोकतन्त्रको सुन्दर अभ्यास निर्वाचन भएको भण्डारीले बताए ।
उनले भने , “लोकतन्त्रको सुन्दर पक्ष भनेकै चुन्ने र चुनिने अधिकार हो । त्यहाँ मतदाताको स्वतन्त्र इच्छा पनि जाहेर हुन्छ ।
नागरिकको इच्छालाई कसैले पनि निषेध गर्न सक्दैन । यसमा सबैको भूमिका उत्तिकै महìवपूर्ण रहन्छ ।
सबै सरोकारवालाले निर्वाचनलाई निष्ठापूर्वक सम्पन्न गर्ने प्रयोजनलाई सहयोग गर्नुहुन्छ भन्ने आयोगले विश्वास गर्छ ।”
उम्मेदवारी मनोनयनका क्रममा उम्मेदवारले वारेसको अधिकार प्रयोग गर्न पाउने पनि उनको भनाइ छ । उम्मेदवारी कायम गर्न कानुन र आचारसंहिताले निषेध गरेका गतिविधि नगर्न पनि उनले आग्रह गरे ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मङ्गलबार १६५ निर्वाचन क्षेत्रमा नै मनोनयन दर्ता हुँदै छ । माघ २ गते १६५ निर्वाचन क्षेत्रमा नै निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् ।
