सल्यान, भारतको हिमाचल प्रदेशमा भएको ग्यास सिलिन्डर विस्फोटमा परी सल्यानका दुई परिवारका ९ जनाको मृत्यु भएको छ।
रोजगारीका लागि भारत गएका सल्यानको सिद्धकुमाख गाउँपालिका( २ टाकुराका उनीहरू घटनामा परेका हुन्।
हिमाचल प्रदेशको सोलान जिल्लास्थित अर्की भन्ने स्थानमा राति सुतिरहेको समयमा पसलमा अचानक आगलागी भएको र त्यसपछि सिलिन्डर विस्फोट हुँदा ठूलो क्षति भएको बताइएको छ।
विस्फोटका कारण मृतकहरूको शव अत्यन्त क्षतविक्षत भएकाले पहिचान गर्न कठिन भएको आफन्तले बताएका छन्।
मृत्यु हुनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, छोरीहरू राधा विक र रेनुका विक, छोरा राजन विक, ४७ वर्षीय काशिराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, १२ वर्षीया अनु विक र ७ वर्षीय किरण विक रहेका छन्।
धनबहादुर विक र काशिराम विकका परिवार पसलमाथिको कोठामा बस्दै आएका थिए।
कामबाट फर्किएर सुतेको बेला आगलागी भएको बताइएको छ। आगलागी थाहा पाएपछि नजिकैको अर्को घरमा सुतेका चार जना भने भागेर ज्यान जोगाउन सफल भएका छन्।
घटनापछि भारतीय सुरक्षाकर्मीको टोलीले शव संकलनको काम गरिरहेको छ। विस्फोटको क्षति अत्यधिक भएकाले संकलन कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।
आर्थिक अवस्था कमजोर भएका कारण अढाई वर्षअघि टाकुरा बस्तीका केही परिवार भारत गई मजदुरी गर्दै आएको बताइएको छ।
दुई परिवारका ९ जनाको मृत्यु भएपछि स्थानीय वडा शोकमा डुबेको छ। सिद्धकुमाख गाउँपालिका( २ ले मंगलबार शोक बिदा दिने निर्णय गरेको छ।
शव उतै दाहसंस्कार गर्ने वा नेपाल ल्याउने भन्ने विषयमा भारतमा रहेका स्थानीयहरूसँग छलफल भइरहेको वडाध्यक्षले जानकारी दिएका छन्।
