काठमाण्डू, प्रभु ग्रुप्सको लगानीमा केवलकार निर्माण तथा पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यले स्थापित प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले आ।व। २०८१/८२ को वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
उक्त सभाबाट विभिन्न प्रस्तावहरु परित भएको कम्पनी सचिवले जानकारी दिए ।
यस कम्पनीमा प्रभु ग्रुप्स एण्ड कम्पनी अन्तरगतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाईड्रो होल्डिङ्गस लिमिटेड लगायतका विभिन्न संस्थागत लगानी कर्ताहरुको मुख्य लगानी रहेको छ ।
साधारण सभाले आईपीओ जारी गर्ने प्रस्ताव स्वीकृत गरेसँगै अब कम्पनीले शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिने भएको छ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भै सकेको छ भने केयर रेटिङ्स नेपाल लिमिटेडसंग आईपीओ निष्कासन प्रयोजनको लागि क्रेडिट रेटिङ्ग सम्झौता पनि सम्पन्न गरिसकेकोे छ ।
साधारण सभाले आईपीओ जारी गर्ने प्रस्ताव स्वीकृत गरेसंगै अब कम्पनीलाई धितोपत्र बोर्डमा सार्वजनिक शेयर निष्कासन (आईपीओ) को लागि आवेदन दिन बाटो खुलेको हो ।
प्रभु केवलकारको लगानीमा तीन वटा केवलकार परियोजनाहरु अगाडि बढेका छन् ।
बुटवल स्थित भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केवलकार परियोजना गत २०८१ साल भाद्रदेखि व्यवसायिक सञ्चालनमा आइसकेको छ ।

प्रभु केवलकार एण्ड टुरिजम नै उक्त सिद्धार्थ केवलकार कम्पनीको मुख्य लगानीकर्ता कम्पनी हो ।
त्यस्तै प्रभु केवलकार एण्ड टुरिजम कम्पनीको लगानीमा सुदुर पश्चिम स्थित बाजुरा जिल्लाको बडीमालिका मन्दिर र चितवनको ईच्छाकामना मन्दिरमा निकट भविष्यमा केवलकार बनाइ सञ्चालन गर्ने कम्पनीको तयारी रहेको छ ।
त्यस्तै प्रभु केवलकारको प्रभावकारी व्यवस्थापन, सेवाग्राही मैत्री कार्यप्रणाली र नेपालको प्रचलित ऐन कानून बमोजिम विभिन्न कार्यविधि तथा विनियमावली बनाई सन्तुलन र नियन्त्रणको संयन्त्र सहित कम्पनी सञ्चालन गरेको भनि हालसालै आईएसओ ९००१: २०१५ को प्रमाण पत्र प्राप्त गरेको छ ।

यो कम्पनी ऋण मुक्त कम्पनी रहनुका साथै गत आ.व.मा ६.१९ करोड सञ्चालन मुनाफा आर्जन गरेको छ भने कम्पनी निरन्तर मुनाफामा सञ्चालित रहेको छ ।
कम्पनीको शनिबार सम्पन्न साधारणसभाले सभामा प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको कम्पनीले जनाएको छ ।
सार्वजनिक शेयर निष्कासन आईपीओबाट संकलन हुने रकम ईच्छाकामना केवलकार र बडीमालिका केवलकार निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ ।
