बैतडी, बैतडीको पाटन नगरपालिका–८ साँडीघाटी नजिक जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेलधुरातर्फ जाँदै गरेको म१ज २२४ नम्बरको बोलेर जीप आज सोमबार बिहान साढे १० बजेतिर जय पृथ्वी राजमार्गअन्तर्गत साँडीघाटी नजिक दुर्घटनामा परेको हो ।
मृत्यु भएका ३ जनाको सनाखत हुन बाँकी रहेको छ । सो जीप आफैँ अनियन्त्रित भएर सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
जीपमा सवार अन्य सबै घाइते भएका र घाइतेहरूको संख्या यकिन हुन बाँकी रहेको प्रहरी निरीक्षक सिंहले बताए ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
