झापाबाट चुनाव उठ्ने बालेनको तयारी, झापा रास्वपा टिमसँग डेढ घन्टा छलफल

काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बनेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने चाहना राखेका छन्।

ललितपुरको ज्वागलस्थित कुमार व्यञ्जनकारको घरमा आइतबार साँझ डेढ घन्टा झापा रास्वपा टिमसँग छलफल गर्दै बालेनले झाप क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने आफ्नो चाहना खुलाएका हुन्।

बालेनले रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरासहितको टिमसँग लामो छलफल गरेका हुन्।

रास्वपा झापाका सचिव शम्भु सुस्केराले बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा- ५ बाट उम्मेदवारी दिने संकेत गरेको बताए।

ओलीले २०४८ सालयता झापा ५ बाट एकपटकबाहेक लगातार चुनाव जितिरहेका छन्। २०६४ सालमा भने उनी माओवादी उम्मेदवारसँग पराजित बनेका थिए।

बालेनले झापाबाट उम्मेदवारी दिने तयारीप्रति सकारात्मक देखिएका सुस्केराले उनी आए झापामा रास्वपाका पक्षमा माहोल बन्ने अपेक्षा पनि व्यक्त गरे।

उनी आफैँ झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने तयारीमा छन्।

झापा टिमसँग बालेनले झापा–५ को वस्तुस्थिति, त्यहाँको विकास निर्माण, पुराना पार्टीहरूको अवस्थाबारे सामान्य सर्भेक्षण आफ्नो टिमले गरेको जानकारीसमेत गराएका थिए।

बालेनले आइतबार राति सामाजिक सञ्जालमा एउटा स्टाटस राख्दै लेखेका थिए, ‘सबैलाई शुभकामना, हामी आउँदै छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *