काठमाण्डू, नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा आयोजित यो महाधिवेशनको उद्घाटन महामन्त्रीद्वयले बेलुन उडाएर शुरु भएको छ ।

महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहानदेखि नै शुरु भएको छ ।
आयोजकहरूकाअनुसार ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतिनिधि दर्ता शुल्क प्रतिव्यक्ति एक हजार रुपैयाँ तोकिएको छ । यो विशेष महाधिवेशन पार्टी विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरमा आधारित छ ।

महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन, नीतिगत पुनरवलोकन, संरचनागत सुधारलगायतका एजेन्डामा छलफल गर्ने जनाइएको छ। उद्घाटन सत्रपछि बन्द सत्र शुरु हुने र महाधिवेशन सोमवारसम्म चल्ने कार्यक्रम छ ।

यद्यपि, पार्टीको संस्थापन पक्ष (सभापति शेरबहादुर देउवा नेतृत्वको) ले यो महाधिवेशनलाई औपचारिक मान्यता दिएको छैन । यसलाई विधानविपरीत भएको बताएको छ ।

संस्थापन पक्षले नियमित १५औँ महाधिवेशनको कार्यतालिका तय भइसकेकाले विशेष महाधिवेशनको औचित्य नभएको धारणा राख्दै आएको छ ।

महाधिवेशन स्थल भृकुटीमण्डपमा हजारौँ नेता, कार्यकर्ता र शुभचिन्तकहरूको उत्साहपूर्ण उपस्थिति रहेको छ ।


