विशेष महाधिवेशनले कांग्रेस फुट्दैन, त्यस्तो अवस्था आए पहिले हलबाट म बाहिरिन्छु :महामन्त्री शर्मा

काठमाण्डू, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी विभाजन नहुने स्पष्ट पारेका छन्।

यहीँ पुस २७ र २८ गते काठमाडौँमा आह्वान गरिएको विशेष महाधिवेशनले विभाजनतर्फ लैजाने अवस्था आए सबैभन्दा पहिला आफू अधिवेशन हलबाट बाहिरिने उनले बताएका छन्।

विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद बढिरहेका बेला महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विभाजनको आशंका अस्वीकार गरेका हुन्।

उनले लेखेका छन्, ‘विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन। यदि त्यस्तो हुन लागे अधिवेशनको हलबाट सबैभन्दा पहिला म बाहिर निस्कनेछु।’

यसअघि पत्रकार सम्मेलनमार्फत पुस २७ र २८ गते दोस्रो विशेष महाधिवेशन आयोजना गर्ने घोषणा भइसकेको छ।

उक्त महाधिवेशनमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले सहभागी हुने जनाइसकेका छन्।

कांग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशनको विपक्षमा देखिएको छ भने महामन्त्रीद्वय शर्मा–थापा पक्षका नेताहरूले भने जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा विशेष महाधिवेशन अनिवार्य भएको दाबी गर्दै आएका छन्।

विशेष महाधिवेशन आवश्यक हुनुको कारण स्पष्ट गर्दै महामन्त्री शर्माले बदलिएको राष्ट्रिय परिस्थिति, नयाँ चुनौती र पार्टीको जिम्मेवारीलाई प्रमुख आधार मानेका छन्।

‘आजको नेपाल भदौ २३ अघिको नेपाल होइन,’ भन्दै उनले नयाँ दृष्टि, योजना र संकल्पका लागि विशेष महाधिवेशन अपरिहार्य भएको तर्क गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *