राष्ट्रियसभा निर्वाचनको चुनावी तालमेलबाट बाहिरियो नेकपा, सिट बाँडफाँडमा मिलेन कुरा

काठमाण्डू, राष्ट्रियसभा निर्वाचनको चुनावी तालमेलबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहिरिएको छ ।

सिट बाँडफाँटमा कुरा नमिलेपछि नेकपा बाहिरिएको हो ।

नेकपाले चार सिट दाबी गर्दै आएकोमा नेपाली कांग्रेस र नेकपा एमालेले तीन सिट मात्रै दिने अडान नछाडेपछि असन्तुष्ट बन्दै नेकपा सम्भावित गठबन्धनबाट बाहिरिएको हो ।

कांग्रेस–एमालेसहितको बैठकमा नेकपाले आफूहरूको मतभारअनुसार चार सिट पाउनुपर्ने अडान राखेको थियो ।

छलफलमा सहभागी कांग्रेस नेता रमेश लेखकले भने, ‘खोइ उहाँहरूले अहिले नगरौँ भन्नु भयो, हामीले मतभारभन्दा एक सिट कम लिएकाले उहाँहरूलाई पनि मतभार भन्दा कम लिन आग्रह गरेका थियौं, तर उहाँहरूले मान्नुभएन, अब कांग्रेस एमाले र मधेसबाट महन्थ ठाकुरलाई दिने भन्ने कुरा भएको छ ।’

नेकपा नेता अग्नि सापकोटाले पनि आफ्नो मतभार अनुसार राष्ट्रियसभामा चार सिट दाबी गरेको र त्यसमा कुरा नमिलेको बताए । यो कुराको नेकपा नेता हरिबोल गजुरेलले पनि पुष्टि गरे ।

‘कांग्रेस र एमालेसँग हामीले मतभारको आधारमा सिट बाँडफाँड गरौँ भन्ने प्रस्ताव गरेका हौँ,’ नेकपा नेता हरिबोल गजुरेलले भने, ‘तर उनीहरूले हाम्रो मतभार भन्दा कम सिट दिने तयारी गरेका छन्, हामीले त्यसमा सहमति जनाएका छैनौँ ।’

निर्वाचन आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ । मतभारमा कांग्रेस सबैभन्दा अगाडि छ ।

उसको मतभार २१ हजारभन्दा बढी छ । त्यसैगरी एमालेको मतभार १७ हजारभन्दा बढी र नेकपाको १२ हजारभन्दा बढी मतभार छ ।

नेकपासँग कुरा नमिलेपछि कांग्रेस–एमालेले जनता समाजवादी पार्टी नेपाललाई जोड्ने प्रयास गरेका छन् ।

जसपा नेपालका तर्फबाट महन्थ ठाकुरलाई एक सिट दिने गरी कांग्रेसले ९, एमालेले ८ लिने सहमति करिब टुंगो लागेको लेखकले बताए ।

जसपा नेपाल पनि तालमेलमा नआए कांग्रेसले १० र एमालेले ८ सिट पाउने छ ।

सिट बाँडफाँडमा सहमति नजुटेपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टी कसैसँग गठबन्धन नगर्ने अभिव्यक्ति दिएका छन् ।

उनले मंगलबार सञ्चारकर्मीहरूसँग आगामी निर्वाचन (राष्ट्रियसभा र प्रतिनिधिसभा) मा आफ्नो दलले कसैसँग कुनै गठबन्धन नगर्ने दाबी गरेका थिए ।

आगामी माघ ११ गते हुने निर्वाचनको लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *