काठमाण्डू, प्रधानमन्त्री सुशीला कार्कीले दलीग गतिविधिमा लागेका तीन मन्त्रीलाई पद छाड्न निर्देशन दिएकी छिन्।
चुनावी गैरदलीय सरकारमा रहेर दलगत क्रियाकलापमा लागेपछि शहरी विकासमन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदिश खरेल र युवा तथा खेलकुलमन्त्री बब्लु गुप्तालाई राजीनामा दिन प्रधानमन्त्री कार्कीले भनेकी हुन्।
केही दिनअघि नै व्यक्तिगत रुपमा आग्रह गरेकी प्रधानमन्त्री कार्कीले सोमबारको मन्त्रिपरिषद बैठकमा पुनः उक्त विषय उठाएकी थिइन्।
भदौमा जेनजी आन्दोलपछि चुनावी प्रयोजनका लागि बनेको सरकारमा कार्कीले गैरदलीय पृष्ठभूमीका व्यक्तिलाई मात्रै सरकारमा सहभागी गराएकी थिइन्।
राष्ट्रपति र दलहरुले दलका व्यक्तिहरु राखेर सरकार बनाउन गरेको आग्रहलाई कार्कीले अस्वीकार गर्दै गैरदलीय सरकार बनाएकी थिइन्।
तर, सहभागी मन्त्री चुनाव नजिकिदै जाँदा सरकारको काम कारबाहीमा भन्दा दलीय गतिविधिमा लागेपछि प्रधानमन्त्रीले पदबाट हट्न भनेकी हुन्।
घिसिङले सरकारमै रहँदा उज्यालो नेपाल पार्टीको संरक्षक बनेर निर्वाचन आयोगमा दल दर्ता गराएका छन्।
उक्त दललाई रास्वपामा मिसाउन पनि घिसिङ आफैँ लागि परेका छन्। उनी काठमाडौँ ३ बाट चुनावी प्रतिस्पर्धा गर्न लागि परेका छन्।
खरेल र गुप्ता पनि रास्वपासँग नजिकिएर दलीय गतिविधिमा आबद्ध छन्। उनीहरु दुवै जान आउँदो चुनावमा रास्वपाबाट उम्मेदवार हुने तयारीमा लागेका छन्।
गैरदलीय सरकार ‘रास्वपाको सरकार’मा परिणत भएपछि सञ्चार माध्यम र सार्वजनिक रुपमा प्रश्न उठेको छ।
