मुस्लिम र हिन्दू समुदायबीचको द्वन्द्वपछि वीरगञ्जमा निषेधाज्ञा जारी

वीरगञ्ज, मुस्लिम र हिन्दू समुदायबीचको द्वन्द्वका कारण वीरगञ्जमा निषेधाज्ञा जारी गरिएको छ।

वीरगञ्ज महानगरपालिकामा आज दिउँसो १ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पूर्वी क्षेत्रको बसपार्क, पश्चिमी क्षेत्रको सिर्सिया पुल, उत्तरी क्षेत्रको पावर हाउस चौक र दक्षिणी क्षेत्रको शंकराचार्य गेटको आसपास कुनै पनि किसिमका सभा, जुलुस र प्रदर्शनहरूलाई पूर्ण रूपमा प्रतिबन्धित गरेको छ।

निषेधाज्ञा उल्लंघन गर्नेहरूलाई कानुनअनुसार कडा कारवाही गरिने चेतावनी समेत दिइएको छ।

हिजो आइतबार त्यहाँ ठूलो प्रदर्शन भएको थियो। सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको हो।

झडपका क्रममा एक जना प्रहरी जवान सामान्य घाइतेसमेत भएका थिए।

धनुषाको धनुकमला नगरपालिका -६ स्थित सखुवा मरानको मुस्लिम बस्तीमा रहेको मस्जिदमा शनिबार अज्ञात समूहले तोडफोड गरी कुरान जलाएको घटना सार्वजनिक भएपछि मुस्लिम समुदाय आक्रोशित बनेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *