काठमाण्डू, यदी कांग्रेसमा कार्यतालिका अनुसार काम भएको भए पुस १६ गते अर्थात् आजबाट १५औँ राष्ट्रिय महाधिवेशनको सुरुवात हुने थियो ।
यसअघि केन्द्रीय समितिले नै पास गरेको कार्यतालिका अनुसार आज गाउँ, नगर र वडा अधिवेशन हुने समय तोकिएको थियो ।
तर, कांग्रेसभित्रको आन्तरिक किचलो बढ्दै जाँदा फागुन २१ को निर्वाचनअघि नियमित महाधिवेशन असम्भव देखिएको छ ।
पुस १६ गते अर्थात् नेपाली कांग्रेसले हरेक वर्ष आजको दिनलाई राष्ट्रिय मेलमिलाप दिवस मनाउने गरेको छ ।
तर, पार्टीभित्र बेमेलको अवस्था सिर्जना हुँदा कांग्रेसमा न मेलमिलापको अवस्था छ, न त मेलमिलाप दिवस मनाउने मनस्थितिमा नै कांग्रेस नै रहेको छ ।
मेलमिलाप दिवसकै अवसरबाट वडा अधिवेशन गर्ने घोषणा गरेपनि त्यसो सम्भव नदेखिएपछि भने नेपाली कांग्रेसका विशेष महाधिवेशनको विषय थप उठेको छ ।
यसअघि नै कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनका लागि आग्रह गर्र्दै हस्ताक्षर नै बुझाइसकेका छन् ।
जेनजी आन्दोलनपछि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएका शेरबहादुर देउवा पार्टीमा आफैँ सक्रिय छन् ।
यसअघि नै संस्थापन पक्षले निर्वाचन अघि महाधिवेशन सम्भव छैन भनिरहेको थियो ।
तर, पुस १६ को म्याद पनि गुज्रिएपछि भने निर्वाचन अघि नियमित महाधिवेशन नहुने ठोकुवासहित नेताहरु विशेष महाधिवेशनको तयारीमा छन् ।
कांग्रेसको विधानमा नै उल्लेख भए अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ ।
तर, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले समेत माग गरे विशेष महाधिवेशन गर्ने पक्षमा कांग्रेसको संस्थापन नदेखिँदा थप विवाद बढिरहेको छ ।
यता महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरुले नियमित महाधिवेशन गर्न नसके स्वतः विशेष महाधिवेशन हुने जिकिर गर्दै आइरहेका थिए ।
बुधबार राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा शुभकामना दिँदै महामन्त्री गगनकुमार थापाले भने विशेष महाधिवेशनका लागि अघि बढ्न आह्वान गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै स्पष्ट रुपमा आफूहरु विशेष महाधिवेशन गर्ने बाटोमा अघि बढेको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै भनेका छन्
आजभन्दा ४९ वर्ष अगाडि विषम परिस्थितिमा ’ राष्ट्रिय एकता र मेलमिलाप’ को आह्वान गरेर बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरू नेपाल फर्किएको दिन १ राष्ट्रिय एकता र मेलमिलाप दिवस’ को ऐतिहासिक अवसरमा आम जनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस् भन्दै, एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधको साथ अगाडि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
नेपाली कांग्रेसले यही उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दू खोजिरहेको छ।
यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ। अनि एकता के बाट आउँछ ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन – भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ।
त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो। पौष मसान्त भित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ।
राष्ट्र प्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी हो ।
अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्त भित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ।
सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु ।
