एजेन्सी, बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की प्रमुख खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ।
उनी पछिल्ला २० दिनदेखि भेन्टिलेटरमा उपचाररत थिइन्।
खालिदा जिया लामो समयदेखि छातीको संक्रमण, कलेजो र मिर्गौलासम्बन्धी समस्यासँगै मधुमेह, तथा आँखा लगायत अनेक समस्याबाट पीडित थिइन्।
उनको निधनको पुष्टि परिवारका सदस्य तथा पार्टीका नेताहरूले गरेका छन्।
खालिदा जिया सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म दुई कार्यकाल बांग्लादेशकी प्रधानमन्त्रीका रुपमा भुमिका निभाएकी थिइन्। उ
नी पूर्वराष्ट्रपति जियाउर रहमानकी पत्नी हुन्। उनका जेठा छोरा तथा बीएनपीका कार्यकारी अध्यक्ष तारिक रहमान सन् २००८ देखि लन्डनमा बस्दै आएका थिए।
उनी यही महिना बंगलादेश फर्किएका छन्। उनी अब आउने निर्वाचनबाट बंगलादेशको प्रधानमन्त्री बन्ने आकलन गरिएको छ।
अर्कोतर्फ, उनका कान्छा छोरा अराफात रहमानको सन् २०१५ मा हृदयाघातका कारण निधन भएको थियो।
सन् २०१८ मा १० वर्षको जेल सजाय
खालिदा जियालाई सन् २०१८ फेब्रुअरी ८ मा ढाकाको विशेष अदालतले ‘जिया अनाथालय ट्रस्ट’ का नाममा सरकारी रकम दुरुपयोग गरेको अभियोगमा ५ वर्षको कैद सजाय सुनाएको थियो।
यसै मुद्दामा उनका छोरा तारिक रहमान र अन्य पाँच अभियुक्तलाई १० वर्षको कठोर कारावास सजाय सुनाइएको थियो।
उनीहरूमाथि २ करोड १० लाख बंगलादेशी टकाको जरिवाना पनि लगाइएको थियो। तारिक रहमानसहित अन्य दुई अभियुक्त फरार भएका थिए।
खालिदा जियाले उक्त फैसलाविरुद्ध उच्च अदालतमा अपिल गरेकी थिइन्। सुनुवाइपछि सन् २०१८ अक्टोबर ३० मा उच्च अदालतले सजाय बढाएर १० वर्ष पुर्याएको थियो।
यसपछि उनले सजायविरुद्ध ‘लिभ-टु-अपिल’ अर्थात् सिधै सर्वोच्च अदालतमा चुनौती दिएकी थिइन्।
कानूनी प्रक्रियाका कारण करिब पाँच वर्षसम्म यसमा ढिलाइ भयो।
शेख हसीनाको सत्ता पतन भएको एक दिनपछि, सन् २०२४ अगस्ट ६ मा खालिदा जियालाई रिहा गरिएको थियो।
त्यसपछि उनी थप उपचारका लागि लन्डन गएकी थिन्। चार महिना त्यहाँ बसेपछि उनी ६ मे मा स्वदेश फर्किएकी थिइन्।
शेख हसीनाकी कडा राजनीतिक प्रतिद्वन्द्वी
बांग्लादेशको राजनीति लामो समयसम्म दुई नेतृहरूको वरिपरि घुमिरह्यो अवामी लिगकी शेख हसीना र बीएनपीकी खालिदा जिया राजनीतिको शीर्ष नेतृत्वमा रहेर प्रतिस्पर्धामा रहे।
सन् १९८० को दशकमा बंगलादेशमा सैनिक शासन थियो। त्यतिबेला सैनिक शासनविरुद्ध शेख हसीना र खालिदा जिया सँगसँगै सडक आन्दोलनमा उत्रिएका थिए।
सन् १९९० मा तानाशाह इरशादको पतनपछि देशमा लोकतन्त्र पुनःस्थापित भयो।
सन् १९९१ को निर्वाचनमा खालिदा जियाले जित हासिल गरेपछि उनी र शेख हसीनाबीच राजनीतिक प्रतिस्पर्धा चर्किँदै गयो।
१९९० पछि बंगलादेशमा भएका अधिकांश निर्वाचनमा सत्ता कहिले खालिदा जियाको हातमा त कहिले शेख हसीनाको हातमा गयो।
मिडियाले यस प्रतिस्पर्धालाई ‘ब्याटल अफ बेगम्स’ अर्थात् दुई बेगमबीचको लडाइँको रुपमा चर्चा गर्ने गरेका छन्।
बंगलादेशलाई स्वतन्त्र गराउने रहमानकी पत्नी
खालिदा जियाको जन्म सन् १९४५ मा भएको हो। उनी राजनीतिक परिवारकी थिइनन् र प्रारम्भमा राजनीतिसँग उनको कुनै सम्बन्ध थिएन।
सन् १९६० मा उनले सैनिक अधिकारी जियाउर रहमानसँग विवाह गरिन्।
सन् १९७१ मा बंगलादेशमा स्वतन्त्रता संग्राम सुरु भयो। यस क्रममा शेख हसीनाका पिता शेख मुजीबुर रहमान पक्राउ परे।
यही समयमा जियाउर रहमानले रेडियोमार्फत ‘स्वतन्त्र बंगलादेश’ को पक्षबाट लडिरहेको घोषणा गरेका थिए।
युद्ध समाप्त भएपछि बंगलादेश स्वतन्त्र राष्ट्र बनेपछि जियाउर रहमान पुनः सेनामा फर्किए र उच्च पदमा पुगे। उनी क्रमशः प्रभावशाली राजनीतिक व्यक्तित्वका रूपमा चिनिन थाले।
सन् १९७५ मा शेख मुजीबुर रहमान र उनको परिवारको हत्या भएपछि देशमा निरन्तर सत्ता परिवर्तन र तख्तापलटको अवस्था आयो।
यस अस्थिर परिस्थितिमा जियाउर रहमान सबैभन्दा शक्तिशाली सैनिक नेताका रूपमा उदाए र सन् १९७७ मा राष्ट्रपतिको पद सम्हाले।
सत्ता सम्हालेपछि उनले बांग्लादेश नेशनलिस्ट पार्टी (बीएनपी) स्थापना गरे। आज यही पार्टी उनकी पत्नी खालिदा जिया र छोरा तारिक रहमानले सञ्चालन गर्दै आएका छन्।
श्रीमानको हत्या पछि राजनीतिमा प्रवेश
सन् १९८१ मे ३० मा चटगाँउमा जियाउर रहमानको हत्या भयो। सेनाभित्रका केही बागीहरुले विद्रोह गरे जहाँ गोली काण्ड मच्चिदा उनको ज्यान गएको थियो।
श्रीमानको निधनपछि बिएनपी पार्टी कमजोर बन्दै गयो। त्यसपछि पार्टीका नेताहरूले खालिदा जियालाई नेतृत्व सम्हाल्न आग्रह गरे।
शुरुमा उनी इच्छुक थिइनन्, तर सन् १९८४ मा उनले पार्टीको जिम्मेवारी सम्हालिन्।
सन् १९९१ मा बांग्लादेशमा भएको पहिलो वास्तविक लोकतान्त्रिक निर्वाचनमा बीएनपीले जीत हासिल गर्यो१ र खालिदा जिया देशको पहिलो महिला प्रधानमन्त्री बनिन्।
सन् १९९६ मा उनले सत्ता गुमाइन्, तर सन् २००१ मा पुनःप्रधानमन्त्रीका रूपमा फर्किएकी थिइन्।
