पाँचतारे तीनवटा होटल बुकिङ गरेर काठमाडौँ क्यासिनो इभेन्ट, डमी खेलाडी प्रयोग गरेर ठगी

काठमाण्डू, पाँचतारे होटलमा खाने(बस्ने फ्रि, प्लेन टिकट फ्रि, पशुपतिनाथको दर्शनको सुविधा र अन्य अफरसमेत देखाएर काठमाडौँमा ‘क्यासिनो इभेन्ट’ हुन्छ, मंसिर २५ देखि २८ गते (डिसेम्बर ११ देखि १४)सम्म।

ठमेलस्थित छायाँसेन्टरको वोल्डो क्यासिनोमा आयोजना गरिएको क्यासिनो इभेन्टमा भारतबाट ४०-५० जना खेलाडीहरू सहभागी हुन्छन्। क्यासिनो खेलाइन्छ।

तर ‘क्यासिनो इभेन्ट’ यसरी गरिएको हुन्छ, जहाँ आयोजकलाई फाइदा पुग्ने चाल रचिन्छ। खेलाडीसँगै डमी खेलाडी पनि सँगै हुन्छन्। तर, उनीहरू चिनिदैनन्।

डमी खेलाडीसँग यस्तो प्रविधि हुन्छ कि उनीहरूले कुन तास कसलाई परेको छ थाहा पाउँछन्।

क्यासिनो खेल्दा डमी खेलाडीको आँखामा एउटा लेन्स राखिन्छ। त्यस लेन्सले कुन खेलाडीको हातमा कुन तास छ भन्ने तासको पछाडीपट्टीबाटै थाहा पाउँछन् र जीत आफ्नो पोल्टामा पार्छन्।

डमी खेलाडीका रुपमा दुईजना प्रयोग हुन्छन्।

आँखामा लेन्स राखिने तरिका देखाइँदै

क्यासिनो खेलको नियमविरीत यसरी खेल खेलाइएको पाइएपछि प्रहरीले आयोजकसहित पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खेल आयोजक महाकाय ग्रुपका सुरेश महाजन, दिनेश बर्मा (डमी खेलाडी), बिक्रम सिंह (डमी खेलाडी), प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन्।

खड्का र पाण्डे नेपाली हुन्। अन्य सबै भारतीय नागरिक हुन्। नेपाली दुई जना खड्का र पाण्डे खेल आयोजक कर्मचारीका रुपमा प्रयोग भएका थिए।

प्रहरी परिसर काठमाडौँले बुधबार पत्रकार सम्मेलन गर्दै इमान्दार खेलाडीलाई ठग्ने र देशकै राजस्वसमेत छली गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएको छ।

परिसरका प्रवक्ता एसपी पवन भट्टाईले यस कार्यमा संलग्न सात जनाको पहिचान भएको र उनीहरू फरार रहेको बताए।

जसमा क्यासिनो संचालकसहित नेपालबाट इभेन्टका मुख्य आयोजक विनोद भन्ने जनार्दन उप्रेती रहेका छन्।

उप्रेतीले महाकाया ग्रुपका सुरेश महाजनलाई सघाउन नेपालमा मुख्य आयोजक भएका थिए। उनी वीपी ग्रुपका संचालक हुन्।

यो इभेन्ट गर्ने मुख्य व्यक्ति सुरेश महाजन हुन्। ५७ वर्षीयउनी भारतको नयाँ दिल्लीमा बस्ने गर्छन्।

उनले नै नेपालमा क्यासिनो इभेन्ट गर्ने योजना बनाएर भारतबाटै नेपालमा खेलाडी भित्र्याएका हुन्।

उनले यसैगरी भारत, श्रीलंका, भियतनाम, कोम्बोडियामा पनि इभेन्ट गरेको पाइएको एसपी भट्टराईले जानकारी दिए।

प्रहरीले उनीहरूको साथबाट ५० सेट तास र चार सेट आँखामा लगाउने लेन्स, भारतीय आधार कार्ड, हवाई टिकट, राहदानीलगायत सामग्री बरामद गरेको छ।

खेल्ने खेलाडीलाई कसरी लुट्न सकिन्छ पूरापूर तयारीका साथमा भारतीय नागरिक महाजनको योजनामा भएको इभेन्टमा पैसा खर्च गर्न सक्ने खेलाडीहरू पनि भारतबाटै खोजी गरि ल्याइएको थियो।

आँखामा राखिने लेन्स

पाँचतारे तीनवटा होटल बुकिङ, एक करोडभन्दा बढीको खेल

चारदिने इभेन्टका लागि काठमाडौँमा पाँचतारे तीनवटा होटलका ११० वटा कोठा बुकिङ गरिएको पाइएको छ।

होटल म्यारियटमा ५० कोठा, होटल र्‍याडिसनमा २० र होटल अलफ्टमा ४० कोठा बुकिङ गरेर खेलाडी र आयोजक बसेको प्रहरी परिसर काठमाडौँ प्रवक्ता भट्टराईले बताए।

होटल बुकिङ, प्लेन टिकट, क्यासिनोको बिल भुक्तानी, खेलाडी र डिलर कमर्चारीको व्यवस्थापन नेपालका बिपी ग्रुपका उप्रेतीले गरेका थिए। उनी स्वयम् पनि जुवा खेलमा संलग्न रहेको पाइएको छ।

क्यासिनोमा कतिको खेल भयो भन्नेबारे एकिन तथ्य पत्ता नलागे पनि प्रहरी अनुमानमा १ करोड ७० लाखसम्मको खेल भएको पाइएको भट्टराईले बताए।

उनकाअनुसार आयोजक र खेलाडीसहित भारतबाट २०० जना नेपाल आएकोसमेत पाइएको छ।

साथै डमी खेलाडीले जितेको रकमको ९० प्रतिशत सञ्चालक र १० प्रतिशत आफूले पाउने गरी सम्झौता गरेर आएका थिए।

क्यासिनो इभेन्टका संचालक महाजनसँगै प्राइड क्यासिनोको संचालक बिनय साह र दावा सेट्टी भनिने दावा शेर्पाको पनि सम्पर्क रहेको पाइएको भट्टराईले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *