काठमाण्डू, नेकपा एमालेको महाधिवेशनमा दिउँसो २:२५ बजेसम्ममा करिब ५५० मत मात्र खसेको छ ।
एमाले निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार मतदान शुरू भएको करिब ५ घण्टामा ५५० मत मात्र खसेको हो ।
एमालेमा २ हजार २६३ प्रतिनिधि मतदाता छन् ।
मतदान प्रक्रियामा खटिएका प्राविधिक राम रिमालले शुरूमा बेलुका ८ बजेसम्ममा मतदान सकिने लोकान्तरसँग बताएका थिए ।
तर, मतदानको गति अपेक्षितभन्दा निकै सुस्त हुँदा राति अबेरसम्म लाग्ने देखिएको छ ।
एमालेमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वका लागि प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।
अध्यक्षमा ओली हावी देखिए पनि महासचिवमा ओली पक्षका शंकर पोखरेल र ईश्वर पोखरेल पक्षका सुरेन्द्र पाण्डेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
अध्यक्षका प्रत्यासीद्वय ओली र पोखरेल तथा महासचिवका प्रत्यासीद्वय पोखरेल र पाण्डेले शुरूमै मतदान गरिसकेका छन् ।
मतदानपछि ओलीसहितका नेताहरूले प्रतिनिधिसँग भेटेर फोटो खिचाएका छन् ।
