रामपुर, पाल्पाको निस्दी गाउँपालिका–४, मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ् भन्ने स्थानमा जीप दुर्घटना भएको हो ।
नवलपुरको अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको जीप लु १ ज ३९०८ नम्बरको जीप शुक्रबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रारम्भिक विवरण अनुसार दुर्घटना तीन जनाको घटनास्थलमै मृत्यु भएको र आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए ।
मृतक र घाइतेहरुको पहिचान हुन बाँकी छ । उकालो सडकमा जीपले नतानेपछि यात्रु ओराल्ने क्रममा जीप ब्याक भएर दुर्घटना भएको स्थानीय जानकारी दिएका छन् ।
जीप सडकबाट झण्डै एक किलोमिटर तल खसेको छ । घाइतेहरुलाई उद्धार गरी अस्पताल पठाइएको छ ।
उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा विस्तृत जानकारी आउन बाँकी छ।
