काठमाण्डू, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको आगामी १५औं महाधिवेशनमा आफूले पहिलो चरणमा नै ५१ प्रतिशत मत ल्याएर सभापतिमा जित्ने दाबी गरेका छन् ।
इमेज टेलिभिजनको कार्यक्रम ‘हटसिट’मा अन्तर्वार्ता दिँदै कांग्रेस नेता डा. कोइरालाले महाधिवेशनको क्रममा कुनै पनि पावर सेयरिङ नहुने र आफूले सभापतिमा सहज जीत हासिल गर्ने दाबी गरेका हुन् ।
नेता डा. कोइरालाले महामन्त्रीहरूले आफ्नो जिम्मेवारीअनुसार क्रियाशील सदस्यसम्बन्धी समस्या समयमा नै सम्पन्न गर्न नसकेको आरोप लगाए ।
महामन्त्रीहरूले आफ्नो जिम्मेवारीअनुसारको काम समयमा नै सम्पन्न गर्न नसक्दा त्यसको असर महाधिवेशनमा पर्ने र २६ पुसमा घोषित महाधिवेशन केही दिन पछि सर्न सक्ने उनले बताए ।
महाधिवेशन पछि सर्दा समस्या होला नि भन्ने प्रश्नमा उनले केही दिन पर सर्दैमा आकाश नखस्ने र कुनै समस्या नपर्ने बताए ।
‘सरकारले २१ फागुनमा घोषणा गरेको निर्वाचनको समय त केही पर सार्ने कुरा भइरहेको छ भने कांग्रेसको महाधिवेशन केही पर सर्दैमा त्यसले खासै समस्या पर्दैन ।
हाम्रो महाधिवेशन केही दिन पर सर्न सक्छ’ –नेता डा. कोइरालाले भने । डा. कोइरालाले महाधिवेशन निर्वाचन अघि नै हुनेमा सबै जना ढुक्क हुनुपर्ने बताए ।
कांग्रेस महामन्त्री गगन थापाले पनि सभापतिमा उम्मेदवारी घोषणा गरेको विषयमा उनले भने– ‘महाधिवेशनमा सभापतिको उम्मेदवार ४–५ जना हुनुमा के ठूलो कुरा भयो र ? १४औं महाधिवेशनमा पनि त ४–५ जना थियौं ।’
जति जना भएपनि सभापतिमा आफूले जित्ने कुरामा विश्वस्त रहेको उनले बताए ।
कांग्रेसका हालका सभापति देउवा पक्षको मत पनि पाउन सक्नुहोला त ? भन्ने प्रश्नमा नेता कोइरालाले उहाँहरूको भोट पनि आफूलाई आउने भएकाले नै आफू जित्नेमा ढुक्क रहेको दाबी गरे ।
सभापति र प्रधानमन्त्री अर्कै हुने कुरा हाइपोथेटिकल कुरा हो । त्यस्तो कुनै सेयरिङ हुँदैन, यस्ता छलफल महाधिवेशनपछि गर्ने हो अहिले गर्नुको कुनै अर्थ छैन’ –डा. कोइरालाले भन्नुभयो ।
नेता डा. कोइरालाले महाधिवेशनको मिति तोक्न लामो समयको रस्साकस्सी देखिएको र बैठकमा दुईवटा क्यालेन्डर ल्याउनु नै गलत भएको बताए ।
‘एउटै क्यालेन्डर बनाएर छलफल गरेको भए त्यति धेरै लफडा नै हुँदैनथ्यो, दुइवटा क्यालेन्डर ल्याइनु नै गलत थियो त्यसैका कारण समस्या भयो’ –डा. कोइरालाले भने ।
दुइवटा क्यालेन्डर ल्याएर नेपाली कांग्रेसको इतिहासमा नै गलत परम्पराको अभ्यास गरिएको भन्दै डा. कोइरालाले त्यस्तो कार्य गलत भएको बताए ।
क्रियाशीलसम्बन्धी समस्या समाधान हुन केही समय लाग्ने उनले भने । महाधिवेशन क्रियाशीलताको जिम्मेवारी महामन्त्रीहरूको हो ।
उहाँहरूले गर्नुपर्ने काम गर्नुप¥यो नि । काम नगर्ने अनि धेरै कुरा गरेर हुँदैन’ –उनले थपे ।
कतिपय विश्लेषकहरूले महाधिवेशनको विवाद टरेको होइन सरेको हो भनेका छन् नि भन्ने प्रश्नमा उनले भने – ‘विभिन्न समस्या समाधान गरेर महाधिवेशन हुन्छ ।
समय केही दिन सर्न सक्छ । तर, निर्वाचन अघि नै महाधिवेशन हुन्छ ।’
