काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा मंगलबार लुम्बिनी लायन्स र काठमाण्डू गोर्खाजबीच एलिमिनेटर खेल हुँदैछ ।
काठमाण्डू गोर्खाजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।
लुम्बिनी लायन्स र काठमाण्डू गोर्खाजबीचको एलिमिनेटर खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपरान्ह ४ बजे शुरू हुनेछ ।
एलिमिनेटर खेलमा विजयी हुने टोलीले बुधबार बलियो प्रतिद्वन्द्वी विराटनगर किङ्ससँग दोस्रो क्वालिफायर खेल्नेछ ।
विराटनगर किङ्स सोमबार खेलिएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । सुदूरपश्चिम भने प्रतियोगिताको फाइनलमा पुगिसकेको छ ।
एनपीएलको दोस्रो संस्करणमा यसअघि पनि काठमाण्डू र लुम्बिनीबीच एकपटक भिडन्त भइसकेको छ ।
लिग चरणमा खेलिएको उक्त खेलमा काठमाण्डूले लुम्बिनीलाई २२ रनले हराएको थियो ।
त्यसैले बुधबारको खेलमा रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी अघिल्लो हारको बदला लिने धुनमा रहने छ भने करण केसीको कप्तानीमा रहेको काठमाण्डू लगातार दोस्रो जितको खोजीमा ।
लिग चरणको खेलपछि अंक तालिकामा काठमाण्डू गोर्खाज तेस्रो र लुम्बिनी लायन्स चौथो हुँदै प्लेअफ चरणमा पुगेका हुन् ।
काठमाण्डूले सातमध्ये पाँच खेलमा जीत र दुई खेलमा हारको नतिजा निकालेको थियो ।
लुम्बिनीले भने सातमध्ये चार खेलमा जीत र तीन खेलमा हारको नतिजा निकालेको थियो ।
एनपीएलको पहिलो संस्करणमा भने लुम्बिनी लिग चरणबाटै बाहिरिएको थियो ।
लुम्बिनी सातमध्ये केवल एक खेलमा विजयी र ६ खेलमा पराजित हुँदै तालिकामा आठौं भएको थियो ।
अघिल्लो सिजन काठमाण्डू भने नेट रन रेटमा थोरै अन्तरले पछि परेका कारण प्लेअफ चरणमा पुग्नबाट बञ्चित भएको थियो ।
काठमाण्डू चार खेलमा जीत र तीन खेलमा हारको नतिजासहित तालिकामा पाँचौं भएको थियो ।
समान आठ अंक भएपनि काठमाण्डू चितवन राइनोज र कर्णाली याक्ससँग नेट रन रेटमा पछि परेको थियो ।
