सात वटा विद्युत ग्रिड सब स्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाण्डू, नेपाल विद्युत् प्राधिकरणका पुराना सात वटा ग्रिड सब स्टेसन स्वचालित बनेका छन् ।

विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रूपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सब स्टेसनलाई स्वचालित बनाउन सुरु गरिएको थियो ।

त्यसमध्ये पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुर गरी सात वटा ग्रिड सब स्टेसन स्वचालित प्रणालीमा आबद्ध गरी सञ्चालनमा ल्याइएको छ ।

अब उक्त सब स्टेसनहरू मिनभवनस्थित प्राधिकरणको भवनमा बनाइएको नियन्त्रण कक्षबाट सञ्चालन गरिएको छ ।

स्वचालित रूपमा सब स्टेसन सञ्चालन तथा नियन्त्रणका लागि नयाँ नियन्त्रण कक्षसमेत निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

स्युचाटार, टेकु, मातातीर्थ, चावहिल, के ३ र लामासाँघु गरी बाँकी ६वटा सब स्टेसन दुई महिनाभित्र स्वाचालित प्रणालीमा आबद्ध गरिने छ ।

स्वचालित सब स्टेसन स्युचाटारस्थित भार प्रेषण केन्द्रसँग सुपरवाइजरी नियन्त्रण तथा डाटा प्राप्तिमार्फत आबद्ध हुने हुँदा यसबाट एकीकृत प्रणाली सञ्चालन थप मजबुत र स्थिर हुने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले सब स्टेसन पूर्णरूपमा स्वचालित भएपछि बारम्बार हुने विद्युत् अवरोध न्यून हुने, वास्तविक समयको तथ्याङ्क प्रयोग हुने भएकाले भार (लोड) व्यवस्थापन सहज हुने, सञ्चालन सम्भार खर्च कम हुने, प्राविधिक क्षति कम हुने र स्मार्ट ग्रिड विकास हुने बताए ।

उनले स्वचालित बनेपछि क्रमिक रूपमा मानवरहित अवस्थामा अर्थात् भौतिक रूपमा सञ्चालनका लागि कर्मचारी ड्युटीमा खट्नु नपर्ने बताए ।

एशियाली विकास बैँक (एडिबी)को विद्युत् प्रसारण तथा वितरण दक्षता सुदृढीकरण परियोजना अन्तर्गत प्राप्त भएको सहुलितपूर्ण ऋणमा सब स्टेसनलाई स्वचालित बनाइएको छ ।

समग्र आयोजनाको लागत करिब ६१ करोड रुपियाँ रहेको छ ।

त्यस्तै देशभरका बाँकी ६४ वटा ग्रिड सब स्टेसन स्वचालित बनाउन एडिबीको सहुलितपूर्ण ऋणमा काम भइरहेको छ ।

उक्त काम आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसपछि सम्पूर्ण ग्रिड सब स्टेसन स्वचालित हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *