रसुवा, झन्डै पाँच महिनादेखि बन्द रहेको रसुवागढी नाका खुल्ने भएको छ ।
गत असार २४ गते बढी पहिरोले रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि नाका बन्द भएको थियो ।
बाढीले पुल बगाएको झन्डै पाँच महिनापछि चीनले बेल ब्रिज निर्माण गरेपछि नाका सञ्चालनमा आउने भएको हो ।
डिसेम्बर १० सम्म नेपाल–चीन जोड्ने पुल सञ्चालनमा आउन सक्ने रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।
पुल निर्माणको काम सम्पन्न भइसकेको र फिनिसिङको काम भइरहेको उनको भनाइ छ । ‘पुल निर्माण काम सम्पन्न भइसकेको छ ।
बाहिरी फिनिसिङको काम भइरहेको छ’, लोकान्तरसँग उनले भने, ‘अब कहिलेदेखि खोल्ने भन्ने कुरा आधिकारिक रूपमा चिनिया पक्षबाट आएको छैन ।
तर, १० डिसेम्बरसम्म खोल्ने अनौपचारिक कुरा भएको छ । आधिकारिक रूपमा अझै भन्न सकिएको छैन ।’ पुलको अन्तिम परीक्षणपछि सञ्चालनमा ल्याइने उनले बताए ।
नेपाल र चीनको प्रमुख नाका रसुवागढी बन्द भएसँगै विकल्पको रूपमा मुस्ताङको कोरला नाका सञ्चालनमा ल्याइएको थियो ।
जुन अब बन्द हुने भएको छ । मङ्सिर १ गतेदेखि कोरला नाका बन्द गर्ने निर्णय भए पनि तातोपानी नाका सञ्चालन नआएकाले अहिलेसम्म भन्सारको काम भैरहेको छ ।
२०८० सालमा नै सञ्चालनमा आएको मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका) भदौ ३० गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।
यसअघि आयात निर्यातका लागि ठप्प रहेको तर, जिल्ला प्रशासन कार्यालयबाट जारी भएको प्रवेश अनुमति पत्रका आधारमा सामान आयात निर्यात गरिँदै आएको थियो ।
गत भदौ २१ गते भन्सार विभागले कर्मचारी नै खटाएर भन्सार कार्यालयलाई पूर्ण रूपमा सञ्चालन गर्ने निर्देशन दिएको थियो ।
अहिले मुस्ताङ हुँदै चीनतर्फका गाडीहरू नेपाल भित्रिने भएपछि कोरला नाकाबाट १० किलोमिटर नेपालतर्फ रहेको भन्सार कार्यालयबाट जाचपासको काम भइरहेको छ ।
चालू आर्थिक वर्षको साउनदेखि कार्तिक महिनासम्म नेपालले चीनबाट कुल १ खर्ब ३२ अर्ब ५६ करोड रुपैयाँ बराबरको बस्तु आयात गरेको छ ।
नेपाल र चीनको प्रमुख व्यपारिक नाका रसुवा र तातोपानी अवरुद्ध हुँदा आयातमा पनि प्रभाव परेको देखिन्छ ।
कार्तिक महिनासम्म रसुवागढीको नाकाबाट कूल ३८ करोड ८१ लाख ८८ हजार रुपैयाँ बराबरको आयात भएको छ ।
जबकि गत आर्थिक वर्षको कार्तिक महिनासम्म रसुवा नाकाबाट मात्रै २१ अर्ब ९१ करोड ६५ लाख ५९ हजार रुपैयाँ बराबरको आयात गरिएको थियो ।
चीनसँगको अर्को प्रमुख व्यापारिक नाका तातोपानीबाट कात्तिक महिनासम्म १३ अर्ब ३५ करोड ११ लाख १६ हजार रुपैयाँको बस्तु आयात भएको छ ।
जबकि गत आर्थिक वर्षको कार्तिक महिनासम्म तातोपानी नाकाबाट १५ अर्ब ८३ करोड ७९ लाख ७ हजार रुपैयाँ बराबरको मालसामान भित्रिएको थियो ।
दुवै नाका अवरुद्ध भएपछि नाकामा रहेका मालवाहक कन्टेनर रिरुट गरी कोरला नाका हुँदै भित्रिरहेका थिए ।
रसुवा नाकाबाट वार्षिक ८५ अर्बको हाराहारीमा मालसामान आयात हुने गरेको छ ।
गत आर्थिक वर्षमा २०८१/८२ मा यस नाकाबाट मात्रै ८५ अर्ब २३ करोड २३ लाख ६० हजार रुपैयाँ बराबरको मालवस्तु भित्रिएको थियो ।
त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा रसुवा नाकाबाट ६० अर्ब ९१ करोड २ लाख ६० हजारको माल वस्तु आयात गरिएको थियो ।
नेपालको कुल आयातमा यस भन्सार नाकाको हिस्सा ३.८२ प्रतिशत रहेको छ । चीनतर्फको अर्को नाका हो तातोपानी । देशको कुल आयातमा तातोपानी नाकाको हिस्सा २.५३ प्रतिशत छ ।
आर्थिक वर्ष २०७८/७९ मा २६ अर्ब ६२ करोड ८९ लाख ४० हजार रुपैयाँ बराबरको आयात भएको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा १७ अर्ब १ करोड ४८ लाख ४९ हजार रुपैयाँ र आर्थिक वर्ष २०७६/७७ मा २६ अर्ब ४६ करोड ८१ लाख ९५ हजार रुपैयाँको माल वस्तु यस नाकाबाट आयात भएको थियो ।
आर्थिक वर्ष २०७५/७६ मा रसुवा नाकाबाट ४० अर्ब ८५ करोड ११ लाख ३७ हजार रुपैयाँ बराबरको आयात भएको थियो ।
