एनपीएलमा सुदूरपश्चिम अन्तिम खेल बाँकी हुँदै शीर्ष स्थानमा रहेर क्वालिफायरमा, विराटनगर पनि प्लेअफमा

काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी प्रतियोगितामा जगत टमाटाको प्रशिक्षणमा रहेको सुदूरपश्चिम रोयल्सले लगातार छैटौँ खेलमा जीत निकाल्दै क्वालिफायरमा स्थान बनाएको छ।

बिहीबार भएको दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै लगातार छैटौँ जीत निकाल्यो।

सुदूरपश्चिमको जितले विराटनगर किङ्स पनि प्लेअफमा छनोट भएको छ। विराटनगर ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा रहँदा अन्तिम खेल सुदूरपश्चिमसँग खेल्ने छ।

तर, अब विराटनगरलाई अंकमा लुम्बिनी लायन्सले जिते मात्र भेट्ने भएकोले सुदूरपश्चिमसँग शनिबार अन्तिम लिग खेल्नुअघि नै विराटनगरले पनि प्लेअफमा स्थान पक्का गरेको हो।

चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले १६९ रन बनाएको थियो। जवाफमा चितवन १७.१ ओभरमा अलआउट हुँदै १ सय २० रनमा समेटियो।

चितवनका लागि रवि बोपराले २९ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक देव खनालले २८ रन बनाउँदा अर्जुन साउदले १६ तथा कप्तान कुशल मल्लले १५ रन बनाएका थिए। कुनै पनि खेलाडी राम्रोसँग क्रिजमा जम्न सकेनन्।

सुदूरपश्चिमका लागि पुनित मेहराले ३ विकेट लिँदा दिपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अभिनाश बोहरा र इशान पाण्डेले समान १(१ विकेट लिए।

जितसँगै सुदूरपश्चिमले ६ खेलबाट १२ अङ्क बनाएको छ। पराजित चितवनको भने प्लेअफ सम्भावना कमजोर बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *