जनकपुरधाममा भोलिदेखि सीताराम विवाहपञ्चमी महोत्सव शरु हुँदै, तयारीमा तीनै तहको सरकार उदासीन

जनकपुरधाम, जनकपुरधाममा भोलिदेखि शुरु हुन लागेको सीताराम विवाह पञ्चमी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।

प्रत्येक वर्ष एक हप्तासम्म मनाइने सप्ताहव्यापी कार्यक्रम सीताराम विवाहपञ्चमी महोत्सव भोलिदेखि शुरु हुँदैछ ।

यसका लागि जानकी मन्दिरको सरसजावटदेखि विभिन्न कार्यक्रमहरुको लागि आकर्षक किसिमको पण्डाल, झिलिमिली बत्तीहरु लगाउने काम भइरहेको छ।

एक सातासम्म चल्ने विवाहपञ्चमी महोत्सवको तयारीमा कुनै तहको सरकारले ध्यान नदिएको मन्दिरले जनाएको छ ।

तीन तहको सरकार रहेकोमा संघ, प्रदेश र स्थानीय कुनै सरकारले विवाहपञ्चमीलाई भव्यता दिनका लागि पहल गरेको छैन ।

प्रत्येक वर्ष लाखौँको संख्यामा श्रद्धालुभक्तजन आउने गरेको भएतापनि यो वर्ष यसलाई व्यवस्थित गर्न प्रदेश सरकारले पनि केही नगरेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले बताए ।

उनले भव्य र सभ्य रुपमा विवाहपञ्चमी मनाउनका लागि मन्दिरको तर्फबाट तयारी भइरहेको तर स्थानीय र प्रदेश सरकारको तर्फबाट जुन हिसाबले हुनुपर्ने त्यस अनुसार नभएको बताए ।

उत्तराधिकारी महन्त दासले विवाहपञ्चमीमा करिब १० लाख भक्तजन आउने बताए ।

उनले मन्दिरको बाहिर पण्डाल निर्माण भइरहेको, मञ्चहरु निर्माण भइरहेको बताउँदै प्रदेश सरकारमा जनप्रतिनिधिहरू नभएको अवस्थामा कुनै प्रकारको सहयोग नभएको बताए ।

उनले प्रदेश सरकार कुनै काम लाग्ने नभएको भन्दै सरसफाईमा उपमहानगरपालिका थोरै सक्रिय रहेको बताए ।

प्राचीन मिथिलाको राजधानी समेत रहेको जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी मनाइने गरिन्छ।

यहाँ विवाहपञ्चमी हेर्न नेपालसहित भारतबाट समेत लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्छन्।

जानकी मन्दिरका उत्तराधिकारी महन्त दासले विवाहपञ्चमी महोत्सव अन्तरगत बिहीबार जनकपुर नगर दर्शनबाट शुरु हुने बताए ।

त्यस्तै दोस्रो दिन शुक्रबार फूलवारी लिला, तेस्रो दिन शनिबार धनुषा यज्ञ, चौँथो दिन आइतबार तीलकोत्सव, पाँचौ दिन सोमबार मटकोर, छैठौँ दिन मंगलबार विवाहपञ्चमीको मूल दिन स्वयम्बर र शुभ विवाह तथा सातौँ दिन बुधबार राम कलेवा हुन्छ।

रामकलेवासँगै विधिवत रुपमा एक हप्तासम्म चल्ने विवाहपञ्चमी सम्पन्न हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *