काठमाण्डू, चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा सुखद शुरूवात गरेको छ ।
चितवन राइनोजले मंगलबार खेलिएको आफ्नो पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो ।
चितवन राइनोजले १९.१ ओभरमा ६ विकेट गुमाएर एक सय ७१ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
चितवन राइनोजको जितमा रवी बोपराले अर्धशतकीय योगदान गरे । उनले ५२ रन बनाए ।
यसक्रममा उनले ३६ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काए । एनपीएलको दोस्रो संस्करणमा अर्धशतक बनाउने उनी तेस्रो खेलाडी हुन् ।
टोलीको कुल स्कोर ३० रन पुग्नुअघि नै चितवनले दुई विकेट गुमाएको थियो । ओपनर दीपक बोहराले पनि टोलीका लागि ४२ रनको योगदान गरे । उनले ३६ बलमा एक छक्का र ६ चौका पनि हिर्काए ।
अर्का ओपनर डेविड मलान ६ र तेस्रो नम्बरमा क्रिज समाल्न आएका देव खनाल दुई रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
कप्तान कुशल मल्लले पनि टोलीको खातामा २० रन थपे । उनले १५ बलमा दुई छक्का पनि प्रहार गरे । छैटौं नम्बरमा क्रिज सम्हाल्न आएका सेफ जेबले पनि टोलीका लागि ३८ रनको योगदान गरे ।
उनले केवल १६ बलको सामना गरी चार छक्का र दुई चौका हिर्काए । अर्जुन साउद आठ र सोहेल तनविर शून्य रनमा अविजित रहे ।
चितवनले अतिरिक्त रूपमा तीन रन पायो । कर्णाली याक्सका बलर सोमपाल कामीले दुई विकेट लिए । उनले चार ओभरमा ३३ रन खर्चिए । युनिस सिंह, युवराज खत्री र मार्क वाटले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि, कर्णाली याक्सका लागि ओपनर ब्याट्सम्यान प्रियांक पन्चालले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । उनी केवल १० रनका कारण शतक पूरा गर्नबाट चुके ।
भारतीय खेलाडी प्रियांकले टोलीका लागि ९० रनको योगदान गरे । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ४८ बलको सामना गरी ६ छक्का र सात चौका हिर्काए ।
प्रियांकले २८ बलमा तीन छक्का र चार चौकाको मद्दतले अर्धशतक पूरा गरेका थिए । उनी दोस्रो संस्करणमा अर्धशतक बनाउने दोस्रो खेलाडी हुन् ।
दोस्रो संस्करणमा अर्धशतक बनाउने पहिलो खेलाडी भने जनकपुर बोल्ट्सका आसिफ शेख हुन् । उनले सोमबार खेलिएको काठमान्डू गोर्खाजविरुद्धको उद्घाटन खेलमा अर्धशतक बनाएका थिए ।
चितवनविरुद्धको खेलमा कर्णालीका ओपनर ब्याट्सम्यान म्याक्स ओ’डड भने २० रन बनाउँदै आउट भएका थिए । उनले ३० बलमा एक चौका पनि प्रहार गरे ।
कर्णाली याक्सका लागि दुवै ओपनर ब्याट्सम्यानले ६१ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका मार्क वाट २१ बलमा एक चौकाको मद्दतले १६ रन बनाउँदै आउट भए ।
पवन सर्राफ २७ र नजिबुल्लाह जदरान चार रनमा अविजित रहे । पवनले केवल १६ बलको सामना गरी तीन छक्का र एक चौका पनि हिर्काए ।
कर्णालीले अतिरिक्त रूपमा नौ रन पायो । चितवन राइनोजका बलर सोहेल तनविर, सेन जेब र रवी बोपराले एक–एक विकेट लिए ।
मंगलबारको दोस्रो खेल विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच खेलिने छ । विराटनगर र पोखराबीचको खेल दिउँसो ४ बजे शुरू हुनेछ ।
