काठमाण्डू, निर्वाचन आयोगले चुनावको वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ।
शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग चुनावी तयारीबारे छलफल गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनावको उल्लासमय वातावरण बनाउन सरकारलाई अग्रसरता लिन आग्रह गरेका हुन्।
जेनजी आन्दोलनपछि फागुन २१ गते चुनाव गराउने दायित्वसहित प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी छिन्।
सरकारले चुनाव गराउने आफ्नो दायित्व भएकाले शान्तिसुरक्षा लगायतका कामलाई तीव्रता दिइरहेको बताए पनि दलहरु अझै विश्वस्त हुन सकिरहेका छैनन्।
यस्तो अवस्थामा सरकारले नै दलका शीर्ष नेता, प्रधानमन्त्री, सुरक्षा निकायका प्रमुख सहितको संयुक्त बैठक राख्न भण्डारीले दबाब दिएका हुन्।
उनले भने, ‘राजनीतिक दलका शीर्षस्थ नेताहरू, नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीज्यू लगायत सबै मन्त्रीज्यूहरू, निर्वाचन आयोग, जेन्जी पोस्टाका प्रतिनिधिहरू र सुरक्षा निकायका प्रमुखहरू बसेर बृहत् छलफल गर्न जरुरी छ।
यसलाई चाहिँ धेरै ढिला भयो भने यसको अलिकति पीडित पक्ष आउँछ। त्यसो भएको हुनाले यसलाई छिट्टै गर्न जरुरी छ भनेर मैले आग्रह गरें।’
प्रधानमन्त्री कार्कीले राजनीतिक दलका शीर्ष नेताहरुसँग भेट्न आनाकानी गरिहेकी छिन्।
उनले एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका संयोवक पुष्पकमल दाहालसहितका ‘नेताको अनुहार नै हेर्न नपरोस्’ भन्ने अभिव्यक्ति दिएकी छिन्। त्यसप्रति ओली र दाहालले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन्।
आयोगले प्रदेश तहमा पनि सरकारको अग्रसरतामा छलफलको कार्यक्रम आयोजना शान्ति सुरक्षासँगै चुनावी वातावरणल गति लिने भन्दै सरकारको ध्यानाकर्षण गराए।
‘आयोग र सरकारको प्रतिनिधिहरूको संयुक्त टोलीले कम्तीमा सबै ठाउँमा नसके पनि सात प्रदेशमा सातवटा कार्यक्रम गर्न सकियो भने त्यहाँबाट अत्यन्त राम्रो सन्देश जान्छ, भण्डारीले अगाडि भने,
‘माननीय गृहमन्त्रीज्यू, यो अलि नोटेबल विषय पनि हो, धेरै ठाउँबाट यो आग्रह पनि आएको छ।
अब निर्वाचनमा तपाईंहरू ढुक्क भएर लाग्नुहोस्। मतदान दिने, मनोनयन दाखिल गर्ने र उम्मेदवार हुने र त्योसँग सरोकारवाला सबै पक्षलाई शान्ति सुरक्षाको प्रत्याभूति हामीले दिन्छौँ र निर्वाचन हुन्छु भनेर यति भन्न सकियो भने त्योभन्दा पछाडि सायद अब निर्वाचन हुँदैन कि भनेर विभिन्न कोणबाट आउने सिना प्रश्नहरूसमाप्त भएर जान्छ।’
