काठमाण्डू, जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका दीपककुमार महरा आइतबार पर्साबाट पक्राउ परे ।
कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय ठेकिएका महरा आफ्नो घरमा लुकेर बसेका थिए ।
पर्सास्थित वीरगञ्ज महानगरपालिका– ८ घर भएका महरा परिवारसँग बसिरहेका बेला जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो ।
जगन्नाथदेवलबाटै भागेका अर्का कैदी विनोद सुनारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबारै नियन्त्रणमा लिएको थियो ।
कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद ठेकिएका सुनारलाई २०७७ असार १३ गते जगन्नाथदेवलमा राखिएको थियो ।
२० वर्ष कैद भुक्तान गर्न बाँकी रहेका उनी जेनजी आन्दोलनकै क्रममा भदौ २४ गते कारागारबाट भागेका थिए ।
नुवाकोटस्थित लिखु गाउँपालिका– ६ घर भएका सुनारलाई ब्यूरोले काठमाडौंस्थित तारकेश्वर नगरपालिका– ५ अर्यालटारबाट नियन्त्रणमा लिएको हो ।
महरा र सुनार मात्रै होइन, जेनजी आन्दोलनको फाइदा उठाएर देशभरका २८ वटा कारागारबाट भागेका १४ हजार पाँच सय ५४ जना कैदीबन्दीमध्ये ९ हजार ५ सय १३ जना पक्राउ परिसकेका छन् ।
कारागार व्यवस्थापन विभागका अनुसार पाँच हजार ५१ जना कैदीबन्दी अझै फरार छन्, जसमा कारागारतर्फका चार हजार ६ सय ८५ र बालसुधार गृहका ३५६ जना फरार भएका हुन् ।
फरार उनीहरूको सुरक्षा निकायको समन्वयमा खोजी कार्य भइरहेको छ । विभागका अनुसार २८ वटा कारागारबाट कैदीबन्दी फरार भएका थिए ।
केन्द्रीय कारागार सुन्धारा र नख्खु कारागारबाट धेरै कैदीबन्दी भागेका थिए ।
विभागले फरार कैदीबन्दी खोजीका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको छ ।
प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई फरारको खोजीका लागि खटिन निर्देशन दिएको छ ।
प्रत्येक जिल्ला प्रशासन कार्यालयका सहायक सीडीओको संयोजकत्वमा एउटा कार्यदल बनाइएको छ ।
उक्त कार्यदलले फरार कैदीबन्दीको खोजी र लगत राख्ने काम गरिरहेको छ ।
विभागका महानिर्देशक एवं सहसचिव लीलाप्रसाद शर्माले फरार कैदीबन्दी अझै पनि स्वस्स्फूर्त कारागारको सम्पर्कमा आएमा उनीहरूलाई हुने थप कारबाहीबारे सोचिने बताए ।
उनले भने, ‘फरार भएकामध्ये अधिकांश जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दाका छन्, सुरक्षा निकायकै सहयोगमा खोजी कार्य भइरहेको छ ।’
महानिर्देशक शर्माका अनुसार विदेशी कैदीबन्दीमा धेरैजसो भारत, चीन र बंगलादेशका नागरिक छन् ।
फरार भारतीय कैदीबन्दीहरू लागूऔषध, कर्तव्य ज्यान, जबरजस्ती करणी र डाँका मुद्दाका धेरै छन् ।
चिनियाँ नागरिकहरू अनलाइन ठगीका धेरै छन् । लागूऔषध मुद्दामा जेल परेकी जाम्बियाकी ३५ वर्षीया अभिशार्ग कपुतुलालाई प्रहरीले पक्राउ गरेको छ ।
उनी पनि भदौ २४ मै जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेकी थिइन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।
गृह मन्त्रालयले जेलबाट भागेका कैदीबन्दीको विवरण अध्यागमन विभाग, सीमा प्रशासन कार्यालय लगायत कार्यालयहरूमा समेत पठाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमासमेत कडाइ गरेपछि हवाइमार्गबाट भाग्न खोज्ने कैदीबन्दीहरू काठमाडौंमै लुकेर बसेको आशंका प्रहरीले गरेको छ ।
सुन्धारास्थित जगन्नाथदेवल र नख्खुसहित कारागार कार्यालयहरू झुम्का, सोलुखुम्बू, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, डिल्लीबजार, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, तुलसीपुर, नौबास्ता, रुकुम पश्चिम, नवलपरासी पश्चिम, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर गरी २८ वटा कारागारबाट कैदीबन्दी भागेका थिए ।
