चुनौतीकाबीच प्रहरी कमान्ड कार्कीको काँधमा, सम्हाल्नेछन् साढे २ वर्ष प्रहरीको नेतृत्व

काठमाण्डू, सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठमध्ये पहिलो नम्बरमा रहनुभएका एआईजी कार्कीलाई महानिरीक्षकमा नियुक्त गरेको हो ।

हालका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ बुधबार रातिदेखि ३० वर्षे सेवा अवधि पूरा गरी सेवानिवृत्त हुने छन् ।

त्यसपछि प्रहरी संगठनको कमान्ड कार्कीले सम्हाल्ने छन् ।

जेन–जी आन्दोलनका क्रममा घुसपैठियाका कारण प्रहरी र प्रहरी चौकीमाथि बर्बर आक्रमण हुँदा सिंगो प्रहरी संगठनको मनोबल नराम्ररी गिरेको छ ।

यस्तो चुनौतीपूर्ण अवस्थामा महानिरीक्षक नियुक्त हुनुभएका कार्कीको काँधमा प्रहरीको मनोबल उच्च बनाउनुपर्ने मुख्य दायित्व छ ।

२४ भदौमा जेन–जी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमान्ड सम्हालेका थिए । उनले सो दिन मानवीय क्षति हुन नदिन प्रहरीलाई विशेष निर्देशन दिएका थिए ।

३३ औं आईजीपीको रूपमा नियुक्त हुनुभएका कार्की झण्डै साढे दुई वर्षसम्म प्रहरीको मुख्य कमान्डरको रूपमा रहने छन् ।

हाल उनी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत छन् । उनी संगठनमा इमान्दार र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रूपमा चिनिन्छन् ।

कार्की १८ चैत २०५४ मा प्रहरी इन्सपेक्टरको रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

कार्कीले १७ चैत २०८४ सम्म प्रहरीको नेतृत्व सम्हाल्नुहुनेछ । राजनीति शास्त्रमा स्नातकोत्तर गरेका कार्की २६ मंसिर २०६६ मा डीएसपीमा बढुवा भएका थिए ।

एसएसपीको जिम्मेवारीमा उनी काठमाडौं जिल्ला प्रहरी परिसरको कमान्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो ।

कुनै ठूलो आर्थिक विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ ।

यस्तो छ कार्कीको इन्स्पेक्टरदेखि आईजीपीसम्मको यात्रा
–२८ चैत्र २०५४ –इन्सपेक्टर
–२६ मंसिर २०६६–डीएसपी बढुवा
–१९ साउन २०७४ –एसपी बढुवा
–३ साउन २०७९–एसएसपी बढुवा
–१३ जेठ २०८१ –डीआईजी बढुवा
–११ वैशाख २०८२ –एआईजी
–२४ कार्तिक २०८२ –आईजीपी नियुक्त (२७ कार्तिक देखि लागू हुने गरी )

Leave a Reply

Your email address will not be published. Required fields are marked *