काठमाण्डू, किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
वि.सं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।
किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ ।
समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए। यसलाई सत्य धर्म मुचुल्का भनिन्छ ।
यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । किरात समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको वि.सं २००५ मा निधन भएको हो ।
किरात समाज सुधारमा उनले पुर्याएको योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किरात समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ ।
राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किरात समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किरात ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्माले जानकारी दिए।
फाल्गुनन्द जयन्तीको अवसर पारेर कोशी प्रदेशले आज सार्र्वजनिक विदा दिएको छ ।
