प्रतिनिधिसभा निर्वाचन तयारी ‘प्रक्रियातर्फ ६० प्रतिशत काम सकियो’ : निर्वाचन आयोग

काठमाण्डू, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको प्रक्रियागत काममध्ये आयोगले ६० प्रतिशत पूरा गरिसकेको बताएका छन् ।

राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रतिनिधि सभा पुनस्र्थापना वा चुनाव भनेर रुमल्लिनुपर्ने अवस्था अहिले नभएको बताए ।

२०७७ को विघटनपछिको चुनावमा अदालतलको आदेश कुरेको स्मरण गराउँदै उनले अहिले फरक परिस्थितिमा विघटन भएकाले आयोगले तयारीमा कुनै अलमल नगरेको बताए ।

चुनावको तयारीबारे समितिले गरेको छलफलमा भण्डारीले नेपालका हरेक आन्दोलनले संविधान प्रतिस्थापन गरेपनि अहिले संविधान यथावत् रहेको बताए ।

संविधानको संरक्षकका हैसियतले राष्ट्रपतिले सरकार निर्माण र चुनावको मिति तोकेको स्मरण गराउँदै भण्डारीले शासकीय प्रबन्ध लिकमा ल्याउन चुनाव सर्वोत्तम विकल्प भएको बताएका हुन् ।

समितिमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने, “अहिले संविधान अनुसार प्रतिनिधिसभा विघटन भएको होइन ।

अहिले र यसअघिको विघटन फरक हो । यस अनुसार घोषणा भएको निर्वाचनको तयारी हाम्रो दायित्व हो । हामी चुनाव गराउन तयार छौँ । हामी तयारीमा छौँ ।”

निर्वाचन आयोगमा दर्ता रहेका र विभिन्न तहहरूमा प्रतिनिधित्व गरेका २९ राजनीतिक दलसँग परामर्श भइसकेको उनको भनाइ थियो ।

राजनीतिक परामर्शका क्रममा कुनै पनि दलले निर्वाचन अस्वीकार नगरेपछि केही पूर्वसर्त भने रहेको बताए ।

उनले राजनीतिक रूपमा चुनावको वातावरण र शान्ति सुरक्षामा दलहरूको चासो रहेको पनि समितिमा बताए ।

नयाँ र पुराना शक्तिलाई सन्तुलनमा राखी निषेधको अवस्थाको अन्त्यले राजनीतिक रूपमा चुनावको वातावरण बनाउने भण्डारीको भनाइ थियो ।

सुरक्षा निकायसमेत चुनावका लागि तयार रहेको उहाँले बताउनुभयो । निर्वाचनका लागि आवश्यक पर्ने सामग्री पहिचान भइसकेको पनि उनले बताए ।

७९ प्रकारका सामानमध्ये १०–१२ बाहेक अन्य स्वदेशी सामान उपयोग हुने पनि उनले बताए ।

‘कानून अभाव छ’

भण्डारीले विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउने प्रक्रियाका लागि कानुनसमेत अभाव रहेको बताए ।

सर्वोच्च अदालतले १० वर्षभन्दा पहिले नै सरकारलाई कानून बनाउन आदेश जारी गरे पनि कानून तर्जुमा र व्यावहारिक रूपमा अध्ययनको काम नभएको उनले बताए ।

विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा हालै गृह मन्त्रालयले विधेयक मसौदा तयार पारी सुझावका लागि आयोगमा पठाएको र त्यसमा धारणा दिइसकेको उनको भनाइ थियो ।

विदेशमा रहेका नागरिकलाई मतदानका लागि सरकारले कानून बनाएर दिएमा कार्यान्वयन गर्न तयार रहेको भण्डारीको भनाइ थियो ।

उनले भने, “अहिले गृहले विधेयकको मसौदा तयारी गरेको छ । १७० भन्दा बढी देशमा हाम्रा नागरिक रहेको अनुमान छ ।

ती देशमा मत सङ्कलन कसरी गर्ने रु हाम्रो देशको ३८–३९ देशमा मात्र कूटनीतिक सम्बन्ध छ । यो विषयमा हामी १०–१२ वर्षदेखि लागिरहेका छौँ ।

यो आयोगको काबुभित्रको काम होइन ।” उनले पछिल्लो पटकको नामावली सङ्कलनमा एक लाख २४ हजार थप भएको बताए ।

नियमित रूपमा नाम दर्ताको व्यवस्था भइरहेको अवस्थामा अहिलेको थप सङ्ख्यालाई उत्साहजनक रूपमा लिइएको उनको भनाइ थियो ।

फागुन १२ भित्र जिल्लामा मतपत्र

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रतिनिधिसभा निर्वाचन र आन्तरिक कार्यतालिकाबारे समितिमा जानकारी दिए ।

प्रस्तावित कार्यतालिका अनुसार फागुन २१ को निर्वाचन प्रयोजनका लागि मङ्सिर १ गतेदेखि १० गतेसम्म दल दर्ता हुने छन् ।

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय मङ्सिर १५ गते स्थापना हुने छ ।

यस्तै मतदानस्थल र मतदान केन्द्रको निर्धारण र सूचना प्रकाशन पुस १५ मा हुने प्रस्ताव गरिएको छ ।

पुस १८ र १९ मा समानुपातिकको उम्मेदवारको बन्दसूची पेसको कार्यक्रम प्रस्तावित छ । प्रत्यक्षतर्फको निर्वाचन अधिकृतको कार्यालयको स्थापना माघ २ गते गर्ने प्रस्ताव गरिएको छ ।

निर्वाचनको प्रचार अवधि फागुन ४ देखि १८ गतेसम्मका लागि प्रस्तावित छ । यस्तै मतपत्र फागुन १२ गतेभित्र जिल्ला जिल्लामा पु¥याउने प्रस्ताव गरिएको छ ।

प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनको व्यवस्था भने हाल प्रस्ताव गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *