काठमाण्डू, नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। बैठक सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा सुरु भएको हो।
पार्टीको आगामी महाधिवेशनका विषयमा संस्थापन पक्ष र इतर पक्षबीच सहमति नजुट्दा बैठक पटक–पटक स्थगित हुँदै आएको थियो।
महाधिवेशन फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनभन्दा अगाडि गर्ने कि पछाडि गर्ने भन्ने विषयमा दुई पक्षबीच विवाद छ।
विवाद बढेपछि गत शुक्रबार र आइतबार सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो।
निर्वाचन पछाडि मात्रै महाधिवेशन गर्नुपर्ने संस्थापन पक्षको भनाइ छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत इतर पक्षले निर्वाचन अगाडि नै महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमिति बैठकमा १५औं महाधिवेशनको कार्यतालिका पेस गरेका छन्।
केन्द्रीय समितिको जारी बैठकमा उनले महाधिवेशन कार्यतालिका पुस १६ देखि १९ गतेसम्म गर्ने गरी तालिका पेस गरेका हुन्।
कांग्रेसमा महाधिवेशन फागुन २१ को चुनावअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा विवाद छ।
सभापति शेरबहादुर देउवासहित संस्थापन समूह भने आगामी वैशाखमा मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा छन्।
विवादकै बीच थापाले आफूले तयार पारेको कार्यतालिका बैठकमा पेस गरेका हुन्।
त्यस्तै गगन थापा पक्षधर महाधिवेशन प्रतिनिधिहरूले भने विशेष महाधिवेशनका लागि हस्ताक्षरसमेत बुझाइसकेका छन्।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो।
आजमात्रै विशेष महाधिवेशन पक्षधरले काठमाडौँको नयाँ बानेश्वरमा भेला आयोजना गरेको छ।
उक्त भेलाले पनि नियमित महाधिवेशन समयमै गर्न नसक्ने भए तत्काल विशेष महाधिवेशनको तालिका ल्याउन आग्रह गरेको छ।
