काठमाडौं, क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बुधबार पनि सुनुवाइ हुँदैछ ।
मंगलबार न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।
सन्दीपको तर्फबाट मंगलबार वरिष्ठ अधिवक्ता रामनारायण बिडारी, रमण श्रेष्ठ, शम्भु थापा, कृष्ण सापकोटा, मुरारी सापकोटालगायतले बहस गरे ।
आज पनि सो बहसले निरन्तरता पाउनेछ । अदालतले आजै फैसला दिनसक्ने सम्भावना उच्च छ ।
बलात्कार मुद्दामा दोषी ठहर गर्दै लामिछानेलाई जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा ८ वर्ष जेल सजाय सुनाएको थियो ।
जिल्ला अदालतको फैसलापछि सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।
गौशाला २६ ले पनि लामिछानेलाई कम सजाय भएको भन्दै बढी सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन गरेकी छन् ।
दुवै पक्षको मुद्दाको एकसाथ सुनुवाइ भइरहेको छ ।