काठमाण्डू, नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार पनि स्थगित भएको छ।
दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित गरिएको हो।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नेछ।
पछिल्लो केही दिनदेखि कांग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै जाँदा बैठक प्रभावित हुँदै गएको हो।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन तत्काल गर्न अभियान चलाए पनि कांग्रेसको संस्थापन पक्ष भने वैशाखमा मात्र कांग्रेस महाधिवेशन गर्ने पक्षमा छ।
महामन्त्रीद्वय थापा र शर्मा भने ढिलोमा पुसभित्रै महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।
विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका गुरूराज घिमिरेलगायत नेताहरूले शनिबार केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापतिलाई भेटेका थिए।
उनीहरूले केन्द्रीय समितिबाट तत्काल महाधिवेशन कार्यतालिका नल्याउने हो भने विशेष महाधिवेशन प्रक्रिया शुरू गर्न आग्रह गरेका थिए।
साथै विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेकाहरूले मंगलबार काठमाडौंमा भेला गर्ने भएका छन्।
