धनुषाको वीरेन्द्र बजारमा विराटनगरबाट धनगढी जाँदै गरेको बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु

जनकपुर, धनुषामा बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ।

दुर्घटनामा पतिपत्नीकै मृत्यु हुँदा उनीहरूका छोराछोरी भने गम्भीर घाइते भएका छन्।

शनिबार साँझ सात बजेतिर विराटनगरबाट धनगढी जाँदै गरेको सु।प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १ वीरेन्द्र बजारमा दुर्घटना भएको हो।

‘दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका( ४ भरतपुरका अन्दाजी ४० वर्षीय रमेश मगर, उनकी पत्नी ३५ वर्षीया निशा मगर र रमेशका भाइ ३५ वर्षीय शम्भु मगर र अटोरिक्सा चालक सोही ठाउँका ४० वर्षीय डम्बर राईको मृत्यु भएको हो,’ डीएसपी बमले नेपालखबरसँग भने, ‘दुर्घटनामा ज्यान गुमाउने रमेश र निशाका छोराछोरी गम्भीर घाइते छन्।’

दुर्घटनामा गम्भीर घाइते भएका नौ वर्षीय रोशन मगर र उनकी दिदी १४ वर्षीया शीतल मगरको जनकपुरधामस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले बस चालकलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *