मनाङ, मनाङ जिल्लाको उपल्लो भेगमा भारी हिमपातका कारण बिभिन्न स्थानमा फसेका करिब १ हजार ५ सय नागरिक र २ सय भन्दा बढी विदेशी पर्यटकहरूलाई सुरक्षित स्थानमा पुर्याउन सफल भएको छ।
गत कात्तिक १० गते देखि मनाङका तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ र हुम्दे इलाकाहरूमा भएको भारी हिमपातका कारण उनीहरू बिच बाटोमै अलपत्र परेका थिए।
उद्धारमा जुट्यो संयुक्त टोली
उद्धार कार्यमा मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको विशेष टोलीले नेतृत्व गरेको थियो।

सेनाको टोलीले स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा स्थानीयहरूको सक्रिय सहकार्यमा ठूलो संख्यामा नागरिकहरूको जीवन रक्षा गर्न सहयोग गरेको हो।
नेपाली सेनाको नयाँ भैरवीदल गुल्मका अधिकारीहरूले प्रतिकूल मौसमका बाबजुद उद्धार टोलीले उच्च जोखिम मोलेर पर्यटक तथा स्थानीयलाई सुरक्षित गन्तव्यतर्फ डोऱ्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।

स्थानीय प्रशासनले सबैको समन्वित प्रयासबाट उद्धार कार्य सफल भएको र सुरक्षित स्थानमा पुगेका नागरिकहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।
