ओली नेतृत्वको तात्कालीन सरकारलाई कारबाही गर्न काठमाडौंका मेयर बालेनको माग

काठमाडौं, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले केपी ओली नेतृत्वको तात्कालीन सरकारलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

उनले झापास्थित गिरीबन्धु चिया बगानको तीन सय बिगाहभन्दा बढी जग्गा साटफेर गर्न दिने तात्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई कारबाही गनुपर्ने बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत बालेनले कारबाहीको माग गरेका हुन् ।

उनले लेखेका छन्, ‘झापास्थित गिरीबन्धु चिया बगान ( गिरीबन्धु टि–इस्टेट ) अन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसला गरेको छ ।’

उनले अब त्यहाँ कि चिया बगान हुने कि त त्यो जग्गा सरकारको हुने भन्दै प्रश्न गरेका छन् । उनका अनुसार यो जग्गा अहिलेको अवस्थामा १० अर्ब भन्दा धेरै मूल्यको रहेको छ ।

‘अब तत्कालीन सरकारलाई कारबाहीको भागिदार बनाउनुपर्छ यो सरकारले,’उनले भनेका छन्,‘जस जसले बैना गर्नु भएको छ यो जग्गाको लागि अब कानूनी प्रक्रियाबाट बैना फिर्तामा जानु होला तपाईंहरूको जग्गा प्राप्तिको बाटो सकिएको छ ।’

देशको अर्बौको सम्पत्तिलाई एकल प्रयासले जोगाउन सफल भएको भन्दै उनले कानूनी सल्लाहकार ओमप्रकाश अर्याललाई धन्यवाद समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *