विपीन जोशीको महाकाली नदीमा अन्त्येष्टि गरिँदै

कञ्चनपुर, कञ्चनपुरका विपीन जोशीको मङ्गलबार अन्त्येष्टि गरिँदै छ ।

सोमबार साँझ काठमाडौँबाट धनगढी हुँदै महेन्द्रनगरस्थित घरमा ल्याइएको शव आज महाकाली नदीको भुजेला घाटका दाहसंस्कार गरिने भएको हो ।

स्थानीय तहका जनप्रतिनिधि, नेता कार्यकर्ता, स्थानीय, आफन्त, परिवारजन तथा शुभेच्छुकलगायतले दिवङ्गत जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिँदै छ ।

सोमबार बिहानैदेखि विपीनको घरमा स्थानीयको भिडभाड रहेको थियो, भने घरमा रुवावासी चलेको छ ।

सोमबार रातभरि आगनमा पाल पुनी शव कुर्दे रोएर बसेका परिवारजन, छरछिमेक तथा सिङ्गो राष्ट्रनै स्तब्ध बनेको छ ।

शवको वरिवरी रुँदै श्रद्धाञ्जली अर्पण गर्नेहरूको लामो लाइन लागेको छ । छोराको अनुहार छोएर आमा पद्यमा जोशी बर्बर आँसु झारिरहेका छन् ।

आमा पद्यमाले छोरा विपीनको अन्तिम बिदाइ गर्नुभएको छ । बुबा आँखाबाट आँसु खसाल्दै शव कुरेर बसिरहेका थिए ।

बहिनी पुष्पाले दाइलाई बारम्बार उठाउने प्रयास गर्दै आँखाबाट गहिरो आँसु निकाल्दै अन्तिम बिदाइ गरिन ।

पार्थिव शरीरको अन्तिम दाहसंस्कारका लागि मङ्गलबार बिहान ८ बजे घरबाट शव यात्रा निकालिएको छ ।

श्रद्धाञ्जली सभामा पूर्वपश्चिम राजमार्ग तथा आसपासका सडक क्षेत्रमा जाम लाग्नुका साथै अन्तिम दाहसंस्कारमा जानेको लाइन लागेको छ ।

युवाहरू हातमा राष्ट्रिय झण्डाबोकेर देशले गुमायो एउटा सपूत भन्ने ब्यानरसहित अन्तिम यात्रामा निस्किएका छन् ।

“सिक्दै सिकाउँद” कार्यक्रमअन्तर्गत वि.सं २०८० असोजमा इजरायल गएका विपिनको हमास र इजरायलबीच भएको द्वन्द्वमा परि ज्यान गएको थियो ।

दुई वर्ष पहिले नै ज्यान गुमाएका विपिनको कूटनीतिक पहल हुन नसक्दा असोज २७ गते मात्रै परिवारलाई जानकारी गराइएको थियो ।

विपीनको परिवारलाई प्रदेश, स्थानीय सरकारद्वारा सहयोग

सुदूरपश्चिम प्रदेश सरकारले विपीन जोशीको परिवारलाई आर्थिक सहायता गर्ने निर्णय गरेको छ ।

सोमबार प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जोशीको परिवारलाई मानवीय सहायता स्वरूप दुई लाख रुपियाँ सहयोग गर्ने बताएका हुन् ।

यसैगरी, भीमदत्त नगरपालिकाले पनि विपिनको परिवारलाई सहायता गरिने जनाएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले विपीनको मृत्युले सिङ्गो राष्ट्रनै शोकमा डुबेको बताए ।

नगरप्रमुख बोगटीले विपिनको परिवारलाई पालिकाबाट आवश्यक सहयोग प्रदान गरिने बताए ।

यसै गरी भीमदत्त नगरपालिका ३ का वडा अध्यक्ष गगनसिंह धामीले विपीनको सम्झनामा अक्षयकोष स्थापना गरिने बताए ।

वडा नम्बर ३ मा रहेका तीन वटै सामुदायिक विद्यालयहरूमा विपीनको सम्झनामा अक्षय कोष स्थापना गरिने वडा अध्यक्ष धामीले जानकारी दिए ।

अध्ययनको सिलसिलामा गएका विपिनको विद्रोहीहरूले निर्ममता पूर्वक हत्या गरेपछि मुलुकले एक सबुत गुमाउनुपरेको बताउँदै उनले विपीनको परिवारलाई आफूहरूबाट हुन सक्ने सक्दो सहयोग प्रदान गर्ने जनाए ।

त्यस्तै, विपिन जोशीसहित अध्ययनको सिलसिलामा बाह्य मुलुक गएका नागरिकको सरकारले उचित सुरक्षा प्रदान गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । गरिबका छोराछोरीमाथि अन्याय हुँदा समेत सरकारमा बसेकाले कुनै कदम चाल्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको हो ।

भीमदत्त नगरपालिकाका स्थानीय मदन चन्दले यस क्षेत्रबाट निर्वाचित भएर गृहमन्त्री बनेका, परराष्ट्र मन्त्रालय सम्हालेका नेताहरूले गरिब परिवारका बालबच्चाको विषयमा आवश्यक पहल नचाल्दा अहिले यो स्थिति आएको बताए ।

सरकारले आवश्यक कुटनिटिक पहल गर्न नसक्नु, देशमा जिम्मेवार विहीन राजनिनिक दल हुँदा त्यसको सिकार विपीन हुनुपरेको भन्दै उनले आपत्ति जनाए ।

समयमै रिहाइका लागि आवश्यक कूटनीतिक पहल गर्न नसकेको भन्दै यसको जबाफदेही राजनीतिक दलका नेताहरू हुनुपर्ने स्थानीयहरुले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *