विपीन जोशीको शव २ः३० मा काठमाडौँ आइपुग्ने, जोशीलाई श्रदाञ्जली दिन प्रधानमन्त्री कार्की विमानस्थल जाने

काठमाण्डू, प्रधानमन्त्री सुशीला कार्की विपीन जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने भएकी छन् ।

इजरायलमा निधन भएका विद्यार्थी जोशीको पार्थिव शरीर सोमबार दिउँसो २ः३० बजे काठमाडौँ आइपुग्दै छ । उनको शव फ्लाइ दुबईमार्फत विमानस्थलमा आइपुग्ने छ ।

प्रधानमन्त्री कार्की विमानस्थलमा श्रद्धाञ्जलि अर्पण गर्न जाने कार्यक्रम रहेको छ ।

यसअघि आइतबार दिउँसो इजरायली परराष्ट्र मन्त्रालयका पदाधिकारीले इजरायलको बेन गुरियन विमानस्थलमा स्वर्गीय जोशीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेर शव नेपाल पठाएको हो ।

सो क्रममा इजरायलमा रहेका नेपाली समुदाय, जोशीलाई आश्रय दिएको किबुज समुदायले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

विमानस्थलमा श्रद्धाञ्जलीपछि अन्त्येष्टिका लागि उनको परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

इजरायल हमासबिच चलेको दुई वर्ष लामो युद्धविरामपछि हमासद्वारा बन्धक बनाइएका जीवितलाई छोडिएसँगै बन्धक अवस्थामै मारिएकामध्ये केहीको शव हमासले इजरायललाई हस्तान्तरण गरेको थियो ।

सोही क्रममा पहिलो चरणमा हस्तान्तरण गरिएका चार जनाको शवमध्ये जोशीको पनि इजरायली सरकारलाई हस्तान्तरण गरिएको थियो ।

सन् २०२३ अक्टोबर ७ को बिहानीमा इजरायलमा हमासले गरेको आक्रमणका क्रममा हमासद्वारा बन्धक बनाएर लगिएका जोशी उतै मारिएको समाचार दुई वर्षपछि सार्वजनिक भएको थियो ।

यसबिचमा विपिनका परिवार र नेपाल सरकारले उनको सकुशल रिहाइका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्च पुगेर निकै पहल गरेका थिए ।

२३ वर्षीय जोशी इजरायली अन्तर्राष्ट्रिय सहयोग नियोग (मसाभ) अन्तर्गत सिक र कमाऊ कार्यक्रमअन्तर्गत कृषि विषयमा अध्ययन गर्न र कमाउन त्यहाँ आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र इजरायल पुगेका थिए ।

उनी इजरायलको किबुज एलुमिममा रहेर कामसँगै अध्ययन गरिरहेका थिए ।

७ अक्टोबर २००३ मा हमासले सोही किबुज पसेर अचानक आक्रमण गर्दा उनीसँगै रहेका अन्य १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

घाइते भएका छ जनाको उपचारपछि नेपाल फर्काइएको थियो । उनलाई भने हमासले बन्धक बनाएर आफूसँगै गाजापट्टी लगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *