काठमाण्डू, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्न प्रस्ताव गरेका छन् ।
पार्टीमा नियमित महाधिवेशन मंसिरभित्रै गर्नुपर्ने गरी सदस्यहरूले दबाब बढाएपछि थापाले तयार गरेको नियमित महाधिवेशनको कार्यतालिका बाहिरिएको हो ।
उनले कार्यसम्पादन समितिको बैठकमै नियमित महाधिवेशन मंसिर मसान्तसम्मै गर्न सकिने गरी कार्यतालिका प्रस्तुत गरेका थिए ।
सो कार्यतालिका अनुसार कात्तिक २१ गतेसम्म क्रियाशील सदस्यता इन्ट्री र कात्तिक मसान्तसम्म सदस्यता टुंग्याउन प्रस्ताव गरिएको छ ।
मंसिर ७ गतेसम्म क्रियाशील सदस्यताको नामावली केन्द्रीय समितिलाई बुझाउन र मंसिर १२ र १३ गते वडा अधिवेशन गर्न प्रस्ताव गरिएको छ ।
मंसिर २१ गतेभित्र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयनको प्रस्ताव गरिएको छ ।
यसको एक सातामा मंसिरको २७, २८ र २९ गते महाधिवेशन गर्नुपर्ने प्रस्ताव थापाले गरेका हुन् ।
