बेंगलुरुको प्लेअफ सम्भावना जीवितै, पञ्जाब किंग्स बाहिरियो

एजेन्सी, रोयल च्यालेन्जर्स बेंगलुरुले भारतमा जारी इण्डियन प्रिमियर लिग ( आइपिएल ) मा प्लेअफ सम्भावना जीवितै राखेको छ ।

गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सलाई ६० रनले हराएपछि बेंगलुरुले प्लेअफ सम्भावना जीवितै राखेको हो ।

यो हारपछि पञ्जाबको प्लेअफ यात्रा भने सकिएको छ । आफ्नो १२औँ खेलमा बेंगलुरुले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको पञ्जाब १७ ओभरमा १ सय ८० रनमै अलआउट भयो ।

उसका लागि रिली रुसोले २७ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाए । यस्तै, शशांक सिंहले ३७, जोनी बेयरस्टोले २७ र कप्तान साम करनले २२ रन जोडे ।

बेंगलुरुका लागि मोहम्मद सिराजले तीन, स्वप्निल सिंह, लकी फर्गुसन र कर्ण शर्माले दुई/दुई विकेट लिए ।

त्यसअघि धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसियसन स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ४१ रन बनायो ।

उसका लागि विराट कोहली र रजित पाटिदारले उत्कृष्ट पारी खेले ।

४७ बलको सामना गरेका कोहलीले सात चौका र ६ छक्कासहित सर्वाधिक ९२ तथा पाटिदारले २३ बलमा ६ छक्का र तीन चौकाको मद्दतमा ५५ रनको पारी खेलेका हुन् ।

यस्तै, क्यामरुन ग्रीनले ४६, दिनेश कार्तिकले १८ र विल ज्याक्सले १२ रनको योगदान दिए ।

पञ्जाबका लागि हर्षल पटेलले तीन, विद्वत कावेरप्पाले दुई, साम करन र अर्शदीप सिंहले एकरएक विकेट लिए ।

यो जितपछि बेंगलुरुले १२ खेलबाट १० अंक जोडेको छ । ऊ अहिले तालिकाको सातौं स्थानमा छ ।

१४ अंकका साथ प्लेअफमा पुग्ने हो भने बेंगलुरुले बाँकी दुई खेलमा जीत निकाल्नुका साथै हैदराबाद, चेन्नई, दिल्ली र लखनउको हारको कामना पनि गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *