रौतहटको माधव नारायण नगरपालिकामा विद्यालय भवन निर्माण ठेक्कामा अनियमितता भएको अभियोगमा तीनजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाण्डू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकामा विद्यालय भवन निर्माण ठेक्कामा अनियमितता भएको अभियोगमा तीनजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले नगरपालिका-३ सखुअर्वामा निर्माणाधीन देवी माध्यमिक विद्यालयको भवन ठेक्का सम्बन्धी प्रक्रिया गैरकानूनी ढंगले सम्पन्न गरिएको प्रमाण फेला पारेपछि आइतबार मुद्दा दायर गरेको हो ।

उक्त प्रकरणमा तात्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव, र रौतहट एडभटाइजिङ एजेन्सी प्रालिका सञ्चालक अजितकुमार कर्णको संलग्नता रहेको पाइएको आयोगका सहसचिव एवम राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

आरोपपत्रमा उल्लेख भए अनुसार आर्थिक वर्ष २०७७/७८ आर्थिक वर्षमा उक्त विद्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान र बोलपत्र स्वीकृतिको आशयसम्बन्धी सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने कानूनी व्यवस्था हुँदाहुँदै पनि सो प्रक्रिया अपनाइएन ।

तीनै प्रतिवादीले आपसी मिलोमतो गरी ‘सिटी पोष्ट राष्ट्रिय दैनिक’ नामक सीमित प्रतिमा मात्र प्रकाशित गरिएको पत्रिकामा बोलपत्र आह्वान र स्वीकृतिको सूचना देखाएर ठेक्का प्रक्रिया अघि बढाएको आयोगले जनाएको छ ।

पत्रकार परिषद् नेपालबाट प्राप्त प्रमाणअनुसार ती सूचना वास्तविक रूपमा प्रकाशित नभएको पुष्टि भएपछि अख्तियारले सो कार्यलाई भ्रष्टाचारको श्रेणीमा परेर अनुसन्धान अघि बढाएको हो ।

प्रतिवादीले झुट्टा विवरणसहितको पत्रिकाको आधारमा रौतहट एडभटाइजिङ एजेन्सीलाई झुट्टा बील र भरपाइमार्फत २ लाख ५७ हजार ९७० भुक्तानी दिएको प्रमाण फेला परेको आयोगले जनाएको छ ।

आयोगले उक्त कार्यले माधव नारायण नगरपालिकालाई आर्थिक हानि पुर्‍याउने र उनीहरुले व्यक्तिगत लाभ लिने उद्देश्य राखेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबीसहित आरोपपत्र दायर गरेको हो ।

अख्तियारले दायर गरेको आरोपत्रमा भनिएको छ, ‘सार्वजनिक खरिद ऐन अनुसार सूचना प्रकाशन नगरी ठेक्का प्रक्रिया सञ्चालन गर्नु गम्भीर अनियमितता हो ।

यस्तो मिलेमतोपूर्ण कार्यले स्थानीय तहको पारदर्शिता र उत्तरदायित्व दुवैमा आघात पुर्‍याएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *