काठमाण्डू, नेपाली कांग्रेसभित्र विशेष कि नियमित महाधिवेशन भन्ने बहस भइरहेका वेलामा शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमिति भंग गरेर महाधिवेशन गर्नका लागि सानो र चुस्तदुरुस्त समिति बनाउनुपर्ने माग बढिरहेको छ ।
केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा तय गर्न बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा शुक्रबार नेता बलबहादुर केसीले देउवा नेतृत्वको कार्यसमिति भंग गरेर महाधिवेशनका लागि सानो र चुस्तदुरुस्त समिति बनाउनुपर्ने माग राखे ।
बैठकमा केसीले भनेका थिए, ‘वर्तमान कार्यसमितिले अहिलेको चुनौती समाधान गर्न नसक्ने भएकाले वडा तहदेखि केन्द्रसम्मका सबै कार्यसमिति भंग गर्ने, सबै भ्रातृ संगठन भंग गरेर सबैलाई स–सम्मान बिदाइ गरी उद्देश्य र समयावधि निर्धारण गरेर सबै पुस्तालाई समेटेर नयाँ तदर्थ समिति निर्माण गर्नुपर्छ ।’
केसीले बैठकपछि कुरा गर्दै मुलुक र पार्टी संकटमा परेको वेलामा आफ्नो ‘पर्फमेन्स’ देखाउन नसकेकाले वर्तमान केन्द्रदेखि वडासम्म रहेका कार्यसमिति भंग गर्नुपर्ने माग राखेको जानकारी दिए ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पनि वर्तमान कार्यसमिति भंग गर्नुपर्ने सार्वजनिक रूपमै बताएका छन् ।
वर्तमान कार्यसमिति भंग गरेर कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न र महाधिवेशनको मिति तय गर्नसमेत उनले देउवालाई सुझाएका छन् ।
शनिबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै डा. कोइरालाले आगामी मंसिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले कसैलाई कार्यवाहक सभापतिको जिम्मा दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण निर्माण गर्न देउवालाई आफूले व्यक्तिगत रूपमा आग्रह गरेको बताए ।
‘विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नुपर्छ । मैले शेरबहादुरजीलाई भनेँ— यो मेरो व्यक्तिगत विचार हो,’ कोइरालाले भने, ‘मैले उहाँलाई तपाईं विघटन गर्नुस् भनेँ । एक जनालाई कार्यवाहक सभापति दिनुस् ।
उनले गठन गर्छन् र उनले नै मिति तय गर्छन् ।’ यसो गर्दा मंसिरसम्ममा मिति तय होला भन्ने आफूलाई लागेको डा. कोइरालाले पत्रकारहरूसँग भने ।
युवा नेता रञ्जित कर्णले मंसिरभित्र नियमित महाधिवेशन गर्न नसक्ने भएमा वर्तमान केन्द्रीय कार्यसमिति भंग गर्नुपर्ने माग गरिरहेका छन् ।
कर्णले ‘नेपाली कांग्रेसको अबको बाटो’ शीर्षकमा धारणा सार्वजनिक गर्दै मंसिरभित्र नियमित महाधिवेशन गर या त समिति भंग गर भन्ने नारा अघि सारेका छन् ।
अधिकांश नेताले देउवाको नेतृत्वमा आगामी निर्वाचनमा जान नसकिने र महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरी निर्वाचनमा जानुपर्ने बताइरहेका बेलामा देउवाले तत्काल राजीनामा दिएर कार्यवाहक तोकेर महाधिवेशनमा जानुपर्ने माग उठेको हो ।
