अफगानिस्तानले गर्‍यो पाकिस्तानमा आक्रमण, १२ सैनिक मारिएको तालिबानको दाबी

एजेन्सी, अफगान सेनाले शनिबार राति डुरान्ड रेखानजिकै धेरै पाकिस्तानी सीमा चौकीहरूमा गोलाबारी गरेको छ।

पाकिस्तानले तीन दिनअघि अफगानिस्तानमा गरेको हवाई आक्रमणको बदलास्वरूप उक्त कारबाही गरिएको तालिबानले जनाएको छ। अफगानिस्तानमा तालिबान सरकार छ।

अफगान मिडिया आउटलेट टोलो न्युजका अनुसार, शनिबार अफगानिस्तानले पाकिस्तानमा गरेको आक्रमणमा १२ पाकिस्तानी सैनिक मारिएका छन्।

तालिबान लडाकुहरूले दुई पाकिस्तानी सेनाको चौकी कब्जा गर्दै डुरान्ड रेखापारि कुनार र हेलमन्ड प्रान्तमा रहेका पाकिस्तानी चौकी पनि ध्वस्त पारेका छन्।

अफगान रक्षा मन्त्रालयले भनेको छ, ‘हाम्रो कारबाही मध्यरातमा समाप्त भयो। यदि पाकिस्तानले फेरि अफगान सीमा उल्लंघन गर्छ भने हाम्रो सेना देशको रक्षा गर्न पूर्ण रूपमा तयार छ।’

पाकिस्तानी गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा अफगानिस्तानले भारतले जस्तै उचित जवाफ पाउने चेतावनी दिएको छ।

पाकिस्तानको खैबर(पख्तुनख्वा प्रान्तका एक अधिकारीले मिडियालाई बताएअनुसार अफगानिस्तानले चार फरक स्थानमा आक्रमण गरेको छ।

पाकिस्तानी सेनाले पनि जवाफमा भारी गोलीबारी गरेको छ।

लडाइँका क्रममा पाकिस्तानी सेनाले तीनवटा अफगानी ड्रोन खसालेको छ, जसमा बम बोकेको आशंका गरिएको छ।

साउदी अरेबियाले युद्धप्रति चिन्ता व्यक्त गरेको छ। साउदी सरकारले दुवै देशलाई शान्ति र वार्ताबाट समस्या समाधान गर्न र तनाव बढाउनबाट बच्न अपिल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *