विश्वकप छनोटको ‘सुपर-६’ मा भिड्दै नेपाल र यूएई

काठमाण्डू, विश्वकप छनोटको ‘सुपर-६’ चरणमा नेपालले आफ्नो पहिलो खेल आज आइतबार बलियो प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स -यूएई_सँग खेल्दैछ ।

नेपाल र यूएईबीचको खेल ओमान क्रिकेट एकेडेमीको रंगशालामा नेपाली समय अनुसार, दिउँसो ४:१५ बजे शुरू हुनेछ ।

नेपाल र यूएई एक/अर्काका लागि पूर्वपरिचित प्रतिद्वन्द्वी हुन् ।

जारी विश्वकप छनोटमा पनि यी दुवै टोलीले अब्बल प्रदर्शनसहित ‘सुपर-६’ चरणमा स्थान पक्का गरेका हुन् ।

यी दुवै टोली समूहगत चरणमा दुई/दुई अंकसहित अगाडि बढेका हुन् ।

नेपाली टोली समूह ‘बी’को विजेताका रूपमा ‘सुपर–६’ चरणमा पुगेको हो । नेपालले आफ्नो पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो ।

आफ्नो दोस्रो खेलमा नेपाली टोलीले जापानलाई पाँच विकेटले पराजित गरेको थियो ।

अर्कोतिर, यूएई समूह ‘ए’ को विजेताका रूपमा अगाडि बढेको हो । यूएईले आफ्नो पहिलो खेलमा कतारलाई सात विकेटले पराजित गरेको थियो ।

दोस्रो खेलमा भने यूएईले मलेसियालाई ६ विकेटले हराएको थियो ।

‘सुपर–६’ चरणको अंक तालिकामा ओमान, नेपाल र यूएईको समान दुई–दुई अंक भए पनि नेट रन रेटमा यूएईभन्दा नेपाल अगाडि छ ।

आयोजक ओमान सबैभन्दा राम्रो नेट रन रेटसहित ‘सुपर–६’ चरणमा पुगेको हो ।

ओमानको नेट रन रेट १।०४७ रहेको छ । त्यसैले ओमान ‘सुपर–६’ चरणको पहिलो स्थानमा छ ।

सुपर–६’ चरणको दोस्रो स्थानमा आसिन नेपालको नेट रन रेट ०.७८३ रहेको छ । तालिकाको तेस्रो स्थानमा आसिन यूएईको नेट रन रेट ०.५३२ रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा भने नेपालभन्दा यूएई अगाडि छ ।

पछिल्लो आईसीसी वरीयतामा यूएई १५ औं स्थानमा छ । नेपाल भने वरीयताको १८ औं स्थानमा आसिन छ ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएईबीच अर्को एउटा समानता पनि छ । यतिबेला यी दुवै टोली तेस्रो पटक टी–२० विश्वकप खेल्न संघर्षरत छन् ।

अर्थात्, नेपाल र यूएईले हालसम्म दुई–दुई पटक टी–२० विश्वकप खेलेका छन् ।

रमाइलो संयोग के हो भने, यी दुवै टोलीले सन् २०१४ को एकैपटक टी–२० विश्वकपमा ‘डेब्यू’ गरेका थिए ।

नेपालले सन् २०१४ मा पहिलो र सन् २०२४ मा दोस्रो पटक टी–२० विश्वकप खेलेको थियो ।

यूएईले पनि सन् २०१४ मा पहिलो र सन् २०२२ मा दोस्रो पटक टी–२० विश्वकपमा खेलेको थियो ।

तर, यी दुवै टोली हालसम्म विश्वकपको पहिलो चरणभन्दा अगाडि बढ्न सकेका छैनन् ।

यसैगरी, नेपाल र यूएईबीच टी(२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को एउटा रमाइलो संयोग पनि छ ।

यी दुवै टोलीबीच टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कूल १० खेल खेलिएको छ । त्यसमध्ये यी दुवै टोलीले पाँच–पाँच खेल जितेका छन् ।

नेपालले घरेलु मैदानमा खेलिएको तीन खेलमा यूएईलाई हराएको छ ।

यूएईले भने घरेलु मैदानमा खेलिएको एक खेलमा मात्र नेपाललाई हराउन सकेको छ ।

यूएईको घरेलु मैदानमा नेपालले दुई खेल जितेको छ । यूएईले भने नेपालको घरेलु मैदानमा एक खेलमात्र जित्न सकेको छ ।

‘न्यूट्रल भेन्यू’मा भने यूएईले तीन खेलमा नेपाललाई हराएको छ ।

नेपालले ‘न्यूट्रल भेन्यू’मा खेलिएको खेलमा हालसम्म यूएईलाई हराउन सकिएको छैन ।

आइतबार खेलिने ‘सुपर–६’ चरणको खेलमा नेपालका लागि यो चिन्ताको विषय हुन सक्छ ।

नेपाल र यूएईबीच सन् २०१९ को जनवरी ३१ तारिखमा पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलिएको थियो ।

दुबईमा खेलिएको उक्त खेलमा यूएईले नेपाललाई २१ रनले हराएको थियो ।

त्यतिबेला नेपालको प्रतिनिधित्व गर्ने सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र सन्दीप जोरा अहिले पनि टोलीका महत्त्वपूर्ण सदस्य छन् ।

त्यो खेलमा सन्दीप जोराले अविजित ५३ रन बनाएका थिए भने सन्दीप लामिछानेले दुई विकेट लिएका थिए ।

त्यसलगत्तै सन् २०१९ को फेब्रुअरी १ तारिखमा दुबईमै खेलिएको अर्को खेलमा भने नेपालले यूएईलाई चार विकेटले हराएको थियो ।

त्यो खेलमा दीपेन्द्र ऐरीले अविजित ४७ र करण केसीले २० रन बनाएका थिए भने सन्दीप लामिछाने, करण केसी र सोमपाल काकीले दुई–दुई विकेट लिएका थिए ।

पछिल्लो पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोलीबीच सन् २०२४ को अप्रिल १९ तारिखमा एसीसी प्रिमियर कपमा भिडन्त भएको थियो ।

त्यो खेलमा यूएई ६ विकेटले विजयी भएको थियो । त्यो खेलमा सन्दीप जोराले ५० र गुलसन झाले २० रन बनाएका थिए भने गुलसन झाले दुई विकेट पनि लिएका थिए ।

नेपाल र यूएईबीच हालसम्म खेलिएको टी–२० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक रन बनाउने खेलाडी भने नेपालका दीपेन्द्रसिंह ऐरी हुन् ।

दीपेन्द्रले यूएईविरुद्ध १० खेलको नौ पालीमा कूल दुई सय ३१ रन बनाएका छन् ।

यो सूचीमा दोस्रो स्थानमा यूएईका मुहम्मद वसिम छन् । उनले सात खेलमा कूल एक सय ९९ रन बनाएका छन् ।

यो सूचीको तेस्रो स्थानमा रहेका नेपालका आसिफ शेखले सात खेलमा कूल एक सय ९८ रन बनाएका छन् ।

यसैगरी, नेपाल र यूएईबीच हालसम्म खेलिएको टी–२० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक विकेट लिने बलर नेपालका अभिनाष बोहरा हुन् ।

नौ खेलको आठ पालीमा कूल १४ विकेट लिएका छन् । यो सूचीको दोस्रो स्थानमा रहेका सन्दीप लामिछाने र तेस्रो स्थानमा रहेका सोमपाल कामीले नौ–नौ विकेट लिएका छन् ।

ओमानमा जारी छनोट प्रतियोगितामा समूहगत चरणको खेल सकिँदासम्म सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा यूएईका मुहम्मद वसिम पहिलो स्थानमा छन् ।

उनले दुई खेलमा कुल ९५ रन बनाएका छन् । यो सूचीको चौथो स्थानमा रहेका नेपालका कुशल भुर्तेलले दुई खेलमा ८७ रन बनाएका छन् ।

यसैगरी, जारी छनोट प्रतियोगितामा समूहगत चरणको खेल सकिँदासम्म सर्वाधिक विकेट लिने बलरको सूचीमा नेपालका सन्दीप लामिछाने तेस्रो स्थानमा छन् ।

उनले दुई खेलमा चार विकेट लिएका छन् । यो सूचीमा यूएईका मुहम्मद रोहिद १३ औं स्थानमा छन् । उनले दुई खेलमा तीन विकेट लिएका छन् ।

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, मोहम्मद आदिल आलम, सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशी, गुलसन झा र लोकेश बम रहेका छन् ।

यसैगरी, यूएईको टोलीमा मुहम्मद वसिम (कप्तान), हैदर अली, जाहिद अली, मुहम्मद अरफान, बासिल हमिद, राहुल चोपडा, मुहम्मद फारुक, जोनाथन फिगी, हर्षित कौशिक, ध्रुव परासर, मुहम्मद रोहिद, एलिसन सराफु, आर्यान्श शर्मा, जुनैद सिद्दकी र सिमरनजित सिंह रहेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *