नेपाल समूह विजेता बन्दै विश्वकप छनोटको सुपर सिक्समा, जापान पाँच विकेटले पराजित

काठमाण्डू, नेपाल आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह विजेता बन्दै सुपर सिक्समा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा जापानलाई पाँच विकेटले हराउँदै दुई अंकका साथमा नेपाल सुपर सिक्समा प्रवेश गरेको हो ।

सुरुमा ब्याटिङ गरेको जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर भेट्टाएको हो ।

समूह ‘बी’को उपविजेता बन्दै जापानसमेत सुपर सिक्समा प्रवेश गरेको छ ।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ३८ रन बनाए, । शेखले २१ बलको सामना गर्दा एक छौका र चार छक्का प्रहार गरे ।

गुल्सन झाले २८ रन बनाउँदा कुशल भुर्तेलले २१ रनको योगदान गरे भने कप्तान रोहित पौडेलले १८ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले १४ रन थपे ।

जापानका लागि शोमा स्लेटरले दुई विकेट हात पार्दा रेओ साकुरानो थोमस, सबोरिश रविचन्द्रन र डेक्लान सुजुकीले एक एक विकेट लिए ।

शुरुमा ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन बनाएको थियो ।

जापानका लागि केन्डेल काडोवाकी फ्लेमिङले अर्धशतक प्रहार गरे ।

उनले ४६ बलमा ६० रन जोडे । उसका लागि इसम रहमानले २५ बलमा ३१ रन थपे ।

शुरुमा आक्रामक ब्याटिङ गरेको जापानको पछिल्लोक्रम नेपाली बलरसामु टिक्न सकेको थिएन ।

जापानलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछाने र गुल्सन झाले दुईदुई विकेट हात पारे भने सोमपाल कामी र नन्दन यादवले एकएक विकेट लिए ।

सिलो बलिङ गरेका दीपेन्द्रसिंह ऐरीले तीन ओभर बलिङ गर्दा १५ रन खर्चिए ।

नेपालका लागि अलराउण्ड प्रदर्शन गरेका गुल्सन झा प्लेयर अफ द म्याच बने ।

उनले बलिङमा दुई विकेट हात पार्दा ब्याटिङमा महत्त्वपूर्ण २८ रन जोडे ।

नेपालले सुपर सिक्सको पहिलो खेल समूह ‘ए’को विजेता यूएईसँग आइतबार खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *