काठमाण्डू, स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले बनाइरहेको १२८ मेगावाटको तमोर–मेवा जलविद्युत आयोजनालाई लगानी जुटेको छ।
आयोजनामा सिद्धार्थ बैंकको अगुवाइ तथा माछापुच्छ्रे बैंकको सहअगुवाइमा बिहीबार ऋण लगानी सम्झौता भएको छ। कम्पनीका अध्यक्ष श्रवणकुमार गोयल र सिद्धार्थ बैंकका कर्पोरेट क्रेडिट हेड अमित श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सहवित्तीयकरण संरचनामा सिद्धार्थ र माछापुच्छ्रेका साथै कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, ज्योति विकास बैंक, आईसीएफसी फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड र गुडविल फाइनान्स लिमिटेडको ऋण लगानी हुने भएको छ।
आयोजनाको अनुमानित लागत २३ अर्ब ४ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ। सोमध्ये ७५ प्रतिशत सहवित्तीयकरण प्रणालीमार्फत ऋण लगानी हुने भएको छ।
बाँकी २५ संस्थापकहरुबाट स्वपूँजी (इक्विटी) जुटाइने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुले १७ अर्ब ६८ करोड रुपैयाँ ऋण र बाँकी पाँच अर्ब ७३ करोड रुपैयाँ प्रवद्र्धकहरुले स्वपुँजी लगानी गर्ने भएका छन्।
स्पार्क हाइड्रोले २०७७ साल असोज २५ गते विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमतिपत्र ९जेनेरेसन लाइसेन्स० प्राप्त गरिसकेको छ। वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन (इआईए) २०७५ असार ३१ गते वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको कम्पनीले जनाएको छ।
स्पार्क हाइड्रोइलेक्ट्रिक र नेपाल विद्युत प्राधिकरणबीच २०८० असोज २४ मा विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भइसकेको छ।
आयोजनाको निर्माण शुरु भइ मुख्य संरचनाहरुको प्रारम्भिक कार्यहरु सम्पन्न गरिएको गरिएको कम्पनीले जनाएको छ।
काठमाण्डू, निर्माण कार्यलाई निरन्तरता दिइ २५ प्रतिशत भौतिक प्रगतिसहित द्रुत गतिमा आयोजनाको काम भइरहेको कम्पनीका सञ्चालक भानेन्द्रकुमार लिम्बूले बताए।
आयोजनाको व्यापारिक उत्पादन मिति २०८५ असोज २५ गते तय गरिएको छ। सो बमोजिम कम्पनीले आगामी ३.५ वर्षभित्र विद्युत उत्पादन शुरु गर्ने लक्ष्य लिएको लिम्बूले जानकारी दिए।
कम्पनीले १९ अर्ब ३० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ। स्पार्कले डबल बी माइनस स्कोर पाएको छ।
गतअसारसम्म संस्थापकहरुले आवश्यक इक्विटीको १५ प्रतिशत खर्च गरिसकेका छन्।
कूल अनुमानित लागत आधार मान्दा आयोजना बनाउन प्रतिमेगावाट १७ करोड ८० लाख रुपैयाँ लाग्ने देखिएको छ।
लागतको हिसावले आयोजना सस्तो देखिएको छ। आयोजनाबाट वार्षिक ८२ करोड युनिट विद्युतीय ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ।
प्राधिकरणले विकासकर्ता स्पार्कसँग बर्खाको ६ महिनामा प्रतियुनिट ४.८० र सुक्खायाममा ८.४० रुपैयाँमा पीपीए गरेको छ।
१२८ मेगावाटको लेउ वा देउ (टेक अर पे) मा पीपीए भएको छ। बाँकी १७ मेगावाट पीपीए हुन बाँकी रहेको स्पार्कले जनाएको छ।
पीपीए हुन बाँकी भएकालले पहिलो चरणमा १२८ मेगागाटको मात्र लगानी जुटेको उनको भनाई छ।
बाँकी १७ मेगावाटको पीपीएपछि बैंकहरुले थप ऋण लगानी गर्ने लिम्बूले बताए।
सरकारले पहिलो १० वर्ष पुरै कर छुट र थप पाँच वर्ष आधा गरी १५ वर्ष कर सहुलियत दिएको छ। यसबाट आयोजनाले लाभ पाउनेछ।
परियोजनाबाट उत्पादित बिजुली ६.३ किलोमिटर लामो प्रसारण लाइनबाट २२० केभी हाङपाङ (ढुङ्गेसाँगु) सबस्टेशनमा जोड्न प्रस्ताव गरिएको छ। यो सबस्टेशन सञ्चालनमा आइसकेको छ।
पाँच किलोमिटर सुरङ खन्न टनेल बोरिङ मेशिन (टीबीएम) प्रयोग हुने सञ्चालक लिम्बूले जानकारी दिए।
मेवाखोलाको पानीसमेत तमोर नदीमा मिसाएर बनाइने उक्त आयोजनाको काम शुरु भएको पाँच वर्षभित्र बिजुली उत्पादन गर्ने लक्ष्य छ।
आयोजनाबाट फुङ्लिङ नगरपालिका वडा नम्बर १, २, ३ र ९, मिक्वाखोला गाउँपालिका वडा नम्बर १, २ र ३, मेरिङ्देन वडा नम्बर ३ तथा आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर २, ३ र ५ प्रभावित हुनेछ।
स्पार्कले यसअघि नै प्रभावित क्षेत्रमा सार्वजनिक सुनवाइ तथा इआइएलगायत सबै कार्य सम्पन्न गरिसकेको जनाएको छ। आयोजनाको शियान्यास २०८१ जेठमा भइसकेको छ।
