काठमाण्डू, असोज १७ र १८ गते परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा शुक्रबारबाट यातायात पुनः सञ्चालन हुँदै छ ।
सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको यो राजमार्गको क्षतिग्रस्त खण्डमा डाइभर्सन निर्माण भएसँगै यातायात सञ्चालन हुने भएको हो ।
सडक डिभिजन भक्तपुरका प्रमुख ई. सुमन योगेशले राजमार्गको क्षतिग्रस्त खण्डमा डाइभर्सन निर्माण अन्तिम चरणमा रहेको र बिहीबार रातभरिमा काम सम्पन्न हुने बताउँदै शुक्रबारबाट यातायात सञ्चालनमा आउने जानकारी दिए ।
सडक डिभिजन भक्तपुर अन्तर्गत यस राजमार्गको पुनर्निर्माण भइरहेको छ ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सिमाना नेपालथोकसम्म क्षतिग्रस्त राजमार्गमा डाइभर्सन निर्माण गरिएको हो ।
उनले भने, “अविरल वर्षाका कारण गत वर्ष असोजमा आएको बाढीले बिपी राजमार्ग बगाएपछि बनाइएको अस्थायी डाइभर्सन असोज १७ देखि १८ गते पुनः बगाएपछि सो राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
अहिलेको बाढीपहिरोले गत सालको बाढीपहिरोपछि निर्माण गरिएको डाइभर्सन पूर्ण रूपमा कटान गरेको थियो ।
बाढीपहिरोले राजमार्गको चौकीडाँडा, बोक्सेकुना, माम्ती, चार सयबेँसी, घुमाउनेलगायतका स्थानलाई निकै जोखिमपूर्ण बनाइदिएको छ ।”
यो राजमार्गमा दसैँ, तिहार, छठलगायत चाडपर्वको समयमा दैनिक १५ हजार र अरू समय दैनिक आठदेखि १० हजारसम्म सवारीसाधान ओहोरदोहोर गर्छन् ।
बाढीपहिरोबाट अवरुद्ध भएपछि यो राजमार्ग भएर सञ्चालन हुने सवारीसाधनले झन्डै दोब्बर तेब्बर दुरी तय गर्नुपर्ने बाध्यता थियो ।
२०७२ को विनाशकारी भूकम्पले समेत यो राजमार्गको केही सडकखण्ड क्षतिग्रस्त बनाएको थियो । असोज १७ र १८ गतेको अविरल वर्षाले बिपी राजमार्गका १६ स्थानका डाइभर्सन बगाएको थियो ।
सडक विभागका अनुसार बाढीले १६ स्थानका तीन हजार ४१० मिटर डाइभर्सन बगाएको थियो ।
गत वर्ष असोज १२ गतेको बाढीपहिरोले क्षतविक्षत बनाएको सो राजमार्गको १६ स्थानमा पाँच हजार तीन सय मिटरको डाइभर्सन बगाएको थियो ।
रोशी खोलामा आएको बाढीले गत वर्ष असोजमा जस्तै राजमार्गको विभिन्न सडकखण्डमा सडकको नामोनिसानै मेटिने गरी र पैदलसमेत हिँड्न नसक्ने गरी तहसनहस बनाइदिइएको थियो ।
क्षतिको कारण बढी भारका सवारीसाधन पनि
डिभिजन प्रमुख योगेशले यो राजमार्गलाई क्षतिग्रस्त बनाउनुमा बाढीपहिरोका साथै टिप्परलगायत मापदण्डभन्दा बढी भार भएका सवारीसाधनको समेत भूमिका रहेको बताए ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले बीपी राजमार्गमा १६ टनभन्दा माथिको सवारीसाधन सञ्चालन गर्न रोक लगाए पनि २५ टनसम्म गिटीबालुवा बोकेका टिपर सञ्चालन हुँदै आएका छन् ।
विसं २०७२ मा जापानी सहयोग नियोग (जाइका)ले बीपी राजमार्ग जापान सरकारको २६ अर्ब जापानी येन र नेपाल सरकारको १.१ अर्बको लागतमा निर्माण गरिएको थियो ।
आर्थिक वर्ष २०५३/५४ बाट उक्त राजमार्गको निर्माण शुरु गरिएको थियो भने २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाललाई हस्तान्तरण गरेको थियो ।
