कांग्रेस पदाधिकारी बैठक बस्दै, असोज २६ गते बस्ने पार्टी केन्द्रीय समितिको बैठकका एजेन्डा टुंगो लगाउने

काठमाण्डू, नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। पार्टी सभापति शेरबहादुर देउवाले पार्टी बैठक बोलाएका हुन्।

आज दिउँसो १ बजे ललितपुरमा बैठक बस्ने भनिए पनि ठाउँ खुलाइएको छैन। जेनजी आन्दोलनको क्रममा सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय आगजनीबाट ध्वस्त भएको छ।

असोज २६ गते बस्ने पार्टी केन्द्रीय समितिको बैठकका एजेन्डा टुंगो लगाउन देउवाले बैठक बोलाएका हुन्।


भदौ २४ गतेको जेनजी आन्दोलनकारीको आक्रमणपछि घाइते रहेका देउवाले अहिले स्वास्थ्य लाभ गरिरहेका छन्। यहीबीच कांग्रेसमा नेतृत्व परिवर्तनको कुरा पनि उठिरहेको छ।

कांग्रेसमा अहिले देउवाले कार्यवाहक सभापति तोकेर आफू बिदा हुनुपर्ने वा आगामी मंसिरमा पार्टी नियमित महाधिवेशन गर्नुपर्ने आवाज उठिरहेको छ।

नियमित महाधिवेशन गर्न सक्ने अवस्था नभए विशेष महाधिवेशनको कुरा पनि उठिरहेको छ।

महामन्त्री गगनकुमार थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आवाज उठाइरहेका छन्।

उनीहरुले अर्का नेता शेखर कोइरालासँग परामर्श गरी विशेष महाधिवेशनका लागि देशभरका महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन पनि गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *