बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गको नेपालथोक–भकुण्डेबेँसी खण्डअन्तर्गत नेपालथोकबाट अस्थायी डाइभर्सन सडक निर्माण शुरु

बनेपा, बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गको नेपालथोक–भकुण्डेबेँसी खण्डअन्तर्गत नेपालथोकबाट अस्थायी डाइभर्सन सडक निर्माण शुरु भएको छ ।

असोज १७ र १८ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट क्षतिग्रस्त उक्त खण्डमा जतिसक्दो चाँडै यातायात सञ्चालन गर्न सोमबारदेखि डाइभर्सन सडक निर्माण शुरु गरेको डिभिजन सडक कार्यालय खाल्टे सिन्धुलीले जनाएको छ ।

कार्यालयका अनुसार नेपालथोक–भकुण्डेबेँसी खण्डअन्तर्गत सिन्धुली जिल्लातर्फ काभ्रेको सिमाना वर्षे खोलासम्म रोशी खोलाको बाढीले विभिन्न ठाउँमा ५५० मिटर डाइभर्सन सडक बगाएको छ ।

त्यस्तै, थप पाँच सय मिटर सडकमाथिको कालोपत्रे सडक असर गरेको छ ।

नेपालथोक–भकुण्डेबेँसी खण्डको ३२ किलो मिटर लम्बाई सडकमध्ये १६ ठाउँमा गरी करिब चार किलो मिटर लम्बाई सडकको डाइभर्सन रोशी खोलाको बाढीले बगाई पूर्णरूपमा क्षति गरेको छ ।

ती स्थानमा शुन्यबाट मर्मत गर्नुपर्ने अवस्था रहेको छ । उक्त खण्डको सिन्धुलीतर्फ (डिभिजन सडक कार्यालय, खाल्टेको कार्य क्षेत्रभित्र) को क्षतिग्रस्त ५ सय ५० मिटर सडक बढीमा चार दिनभित्र डाइभर्सन निर्माण गर्नेगरी सोमबारदेखि दुई वटा मेसिन (एक्साभेटर) लगाई काम शुरु गरेको कार्यालय प्रमुख पारसमणि हमालले जानकारी दिए ।

उनले भने, ‘गत वर्ष असोज महिनाको बाढीपहिरोपछि क्षतिग्रस्त बनेको उक्त खण्ड मर्मतका लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीमार्फत नै अहिले डाइभर्सन निर्माण शुरु गरेको हो ।

हाम्रो लक्ष्यअनुसार मेसिन पुगेको छैन । अरू मेसिन थप्न लागि रहेका छौं ।’ काभ्रेतर्फ पनि चौकी डाँडाबाट डाईभर्सन निर्माण शुरु भएको जनाइएको छ ।

गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षापछि रोसी खोलामा आएको बाढीले नेपालथोक–भकुण्डे खण्ड सडकको एक दर्जनभन्दा बढी ठाउँमा सडक बगाई क्षतिग्रस्त बनाएपछि अस्थायी डाइभसर्न बनाई यातायात सञ्चालन गरिएको थियो ।

एक वर्षपछि असोज १७ र १८ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले उक्त खण्डमा फेरि उस्तै क्षति गरेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बीपी राजमार्गको कुल लम्बाई बर्दिबासदेखि धुलिखेलसम्म १ सय ६० किलो मिटरमध्ये बर्दिबासदेखि नेपालथोकसम्मको १ सय १० किलो मिटर सडक भने सञ्चालनमा रहेको छ ।

छोटो दूरीमा पूर्वी नेपाललाई राजधानी काठमाडौँसँग जोड्ने जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको बीपी राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रु प्रभावित भएका छन् ।

नेपालथोक–भकुण्डेबेँसी खण्डमा अहिले नेपालथोक, बालुवा, माम्तीखोला, डालाबेँसी पिप्ले, बोक्सीकुना, चौकी डाँडालगायत एक दर्जनभन्दा बढी ठाउँमा अस्थायी डाईभर्सन सडक बगाएको स्थानीयले बताएका छन् ।

रोशी खोलाको बाढीले गत वर्ष उक्त खण्ड सडकको जहाँ–जहाँ भत्काएर क्षतिग्रस्त बनाएको थियो ।

अहिले त्यही ठाउँमा निर्माण गरिएको अस्थायी डाइभर्सन सडक पूर्णरूपमा बगाई बढी क्षतिग्रस्त बनाएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयो ।

बीपी राजमार्ग अवरुद्ध भएसँगै उक्त राजमार्ग हुँदै सञ्चालन हुने यातायातका साधनलाई वैकल्पिक मार्गको रूपमा सिन्धुलीमाढी भएर मदन भण्डारी राजमार्ग प्रयोग गरी हेटौँडा हुँदै काठमाडौँ र खुर्कोट भएर मन्थली चरिकोट हुँदै अरनिको राजमार्ग प्रयोगगरी आवत–जावत गर्न आग्रह गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *