भक्तपुर, असोज १६ गते बिहीबार घरपरिवार र आफन्तसँग दसैँको टीका लगाएर १७ गते शुक्रबार भक्तपुरको सूर्यविनायक नगरपालिका–४, (दधिकोट) स्थित हर्षचोकको एकै परिवारका तीन जना रसुवाको लाङटाङमा घुम्न हिँडे ।
एकै परिवारका तीन जनासहित साथीहरूसमेत गरी १६ जना घुम्न गएकामध्ये चार जना अझै पनि सम्पर्कविहीन अवस्था छन् भने १२ जना सकुशल नै छन् ।
सम्पर्कविहीन भएका एकै परिवारका तीन जनासहित चार जना बेपत्ता भए ।
बेपत्ता हुनेमा २६ वर्षीय सनिता श्रेष्ठ, उनकी बहिनी २२ वर्षीय संस्कृति र भाइ २० वर्षका किसन श्रेष्ठ तथा भक्तपुर नगरपालिका–१० का २३ वर्षीय रवि श्रेष्ठ छन् ।
लाङटाङ जाने क्रममा शनिबार साँझ रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्साले बगाउँदा उहाँहरू बेपत्ता भएका हुन् ।
बेपत्ता तिनै जनाका काका केशव श्रेष्ठका अनुसार १६ जनाको टोली घुम्न गएका हुन् । केशवले भक्कानिँदै भने, “१६ जना घुम्न गएकामध्ये चार जना बेपत्ता भएको खबर आयो, त्यसमा तीन जना त हाम्रै परिवारका परे ।” १७ गते बुवा कृष्ण श्रेष्ठ साँझसम्म छोराछोरीसँग सम्पर्कमै रहेका थिए ।
कृष्णका पाँच छोरी र एक छोरा छन् । पाँच छोरीमध्ये दुई जनाको विवाह भइसकेको छ ।
एक छोरी जर्मनीमा छन् । घुम्न गएकी सनिता भने केही समयअघि मात्र दुबईबाट नेपाल फर्केकी हुन् ।
“आफू नेपाल फर्केको अवसरमा भाइ र बहिनीसहितका साथीसँग घुम्न जाने क्रममा उनीहरू बेपत्ता भए” बेपत्ता भएका तिनै जनाका भिनाजु विशाल राजथलाले भने ।
“प्रतिकूल मौसममा घुम्न नगएको भए हुन्थ्यो,” राजथलाले बेपत्ता भएका आफन्तको अब खोजी कार्य तीव्र बनाइदिन सरकारसमक्ष माग गरे ।
उनका अनुसार घुम्न गएका १६ जनामध्ये आठरआठ जनाको टिम बनाइएको थियो ।
अलि छिटो हिँड्ने पहिलो आठ जनाको टिम बेरिङ खोल्सामा लेदो आउनुअगाडि नै करिब पाँच किलोमिटर माथि पुगिसकेका थिए ।
आठ जनामध्ये चार जनाले खोला तर्न भ्याए । बाँकी चार जनामध्ये एक जनालाई खोलाले बगायो र खोला तर्न बाँकी तीन जनाले बगाएकालाई समाउन जाने क्रममा उनीहरूलाई पनि खोलाले बगाएको अनुमान पारिवारिक स्रोतले गरेको छ ।
रविलाई पनि उनका आफन्तले पटक पटक अहिले मौसमको अवस्था ठिक छैन, पछि जानु होला भन्दा नमानेर घुम्न गएको बेपत्ता रविको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाल ल कलेजमा स्नातक नवौँ सेमेस्टरमा अध्ययनरत बेपत्ता संस्कृतिकी साथी अनुष्टा देवकोटाले सधैँ कलेज बसमा आवतजावत गर्ने साथी बेपत्ता भएको खबरले आफ्नो मन नै भारी भएको बताइन ।
“सधैँ मिलनसार, मेहनती संस्कृति बेपत्ता भएको खबरले चिन्तित भएको छु,” उनले भनिन् ।
निरन्तर खोजी कार्य
बेपत्ता भएका चारै जनाको खोजी कार्य रसुवा जिल्ला प्रशासन कार्यालय र त्यहाँको सुरक्षा निकायले निरन्तर जारी राखेका छन् ।
आइतबार र सोमबार बिहानैदेखि खोजी कार्य जारी राखे पनि बेपत्ता भएका अवस्था पत्ता लागेको छैन ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले सुरक्षा निकाय र प्रशासनले खोजी कार्य निरन्तर जारी राखे पनि अहिलेसम्म बेपत्ताको पत्ता नलागेको बताए ।
उनले भने, “घटना भएको बेरिङ खोल्सा अलि ठाडो छ । त्यसमा पनि डाँडाको खोचले गर्दा खोजी गर्न जटिल भएको तर सुरक्षा संयन्त्र नै ड्रोनसहित खोजी कार्यमा लागेको छ ।”
उनका अनुसार उक्त खोचबाट करिब दुई सय मिटर तल लाङटाङखोला छ ।
त्यो हिमालबाटै आएको खोला भएका कारण पानीको बहाब पनि ठूलो छ । लाङटाङखोला त्रिशूली नदीमा मिसिएको छ ।
त्यसैले खोजी कार्य जटिल बनेको हो ।
बेरिङ खोल्सामा पहिलो घटना
लाङटाङ जाने क्रममा बेरिङ खोल्सा भएर धेरै पर्यटक आवतजावत गर्ने गरेपनि अहिलेसम्म उक्त खोल्सामा त्यस्तो घटना नभएको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष डिण्डू लामा जावाङ तामाङले यस खोल्सामा अहिलेसम्म त्यस्तो घटना भएको आफूलाई जानकारी नभएको बताए ।
“माथि पानी जमेर तल लेदोसहित आएको हुन सक्छ तर त्यत्रो लेदो आउँदा ठुलो आवाज आउँछ, उहाँहरूले कसरी थाहा पाउनुभएन ? म नै अचम्म परेको छु,” उनल् भने ।
घटनास्थल अलि खोच परेको भएपनि अन्य समयमा यस ठाउँमा खासै ठूलो बाढी आउने ठाउँ भने नभएको अध्यक्ष तामाङले स्पष्ट पारे ।
अहिलेका पुस्ता फोटो खिच्दै हिँड्न रुचाउने भएकाले माथिबाट बाढी आएको उहाँहरूलाई पत्तो नै नभएको हुन सक्ने उनले अनुमान लगाए ।
