खुर्कोट, १७ र १८ गते परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गको डाइभर्सन निर्माण शुरु गरिएको छ ।
काभ्रेको चौकीडाँडाबाट डाइभर्सनको काम शुरु गरिएको हो ।
अविरल वर्षाका कारण गतवर्ष असोजमा आएको बाढीले बीपी राजमार्ग बगाएपछि बनाइएको अस्थायी डाइभर्सन असोज १७ देखि १८ गते पुनः बगाएपछि अहिले बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
सडक डिभिजन भक्तपुरका सूचना अधिकारी ई। विन्दू अधिकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशन र चाडपर्वका समयमा यातायात छिटो सञ्चालन गर्ने उद्देश्यसहित सोमबारदेखि बीपी राजमार्गको क्षतिग्रस्त खण्डमा डाइभर्सन निर्माण शुरु गरिएको जानकारी दिए ।
“सोमबार दिउँसोदेखि रोसीखोलामा पानीको बहाब कम भएपछि मेसिनहरू खोलामा लगेर डाइभर्सन निर्माणको काम शुरु भइसकेको छ । चौकीडाँडाबाट काम शुरु गरेका छौँ ।
मङ्गलटारमा खसेको पहिरो पनि सफा गरेका छौँ,” उनले भने, “हाम्रा सम्पूर्ण जनशक्ति र उपकरण काममा खटिसकेका छन् । मौसमले साथ दिएमा मङ्गलबारदेखि पूर्ण गतिमा काम हुन्छ ।”
अहिले रोसीखोलाको बहाब भित्तासम्मै भएकोले डाइभर्सन निर्माणमा समस्या भएको बताउँदै ई.अधिकारीले रोसीखोलाको किनारैकिनार डाइभर्सन बनाउनुपर्ने भएकाले निर्माणको काम खोलाको पानी प्रवाहमा भर पर्ने स्पष्ट पारे ।
उनका अनुसार काभ्रेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाको सिमाना नेपालथोकसम्म बाढीपहिरोले क्षतिग्रस्त राजमार्गमा डाइभर्सन निर्माण शुरु गरिएको हो ।
असोज १७ र १८ गतेको अविरल वर्षाले बीपी राजमार्गका १६ स्थानका डाइभर्सन बगाएको छ ।
सडक विभागका अनुसार बाढीले १६ स्थानको तीन हजार ४१० मिटर डाइभर्सन बगाएको हो ।
गतवर्ष असोज १२ गतेको बाढीपहिरोले क्षतविक्षत बनाएको सो राजमार्गको १६ स्थानमा पाँच हजार तीन सय मिटरको डाइभर्सन बगाएको थियो ।
विकल्पमा प्रयोग गर्न सकिने सडक
अवरुद्ध बीपी राजमार्गको विकल्पमा विभिन्न सडक प्रयोग गर्न सकिने बताइएको छ ।
विभिन्न वैकल्पिक मार्ग प्रयोग गर्दा एक सयभन्दा बढी किलोमिटर लामो सडक घुम्नुपर्ने बाध्यता छ ।
सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता ई. प्रभातकुमार झाका अनुसार काठमाडौँ आउन जानका लागि बीपी राजमार्गको क्षतिग्रस्त खण्डको विकल्पमा सिन्धुलीको खुर्कोटदेखि रामेछापको मन्थली हुँदै मध्यपहाडी (पुष्पलाल) राजमार्गबाट लामोसाँघु–जिरी सडक र अरनिको राजमार्ग प्रयोग गर्न सकिने छ ।
त्यसै गरी पूर्वबाट आउने सवारीसाधन खुर्कोटबाट रामेछापको मन्थली–तामाकोशी–चरीकोट–खाडीचौर–धुलिखेल हुँदै काठमाडौँसम्मको यात्रा गर्न सकिने उनको भनाइ छ ।
त्यसै गरी सिन्धुलीमाडीबाट मदन भण्डारी राजमार्ग भएर हेटौँडाबाट भीमफेदी–कुलेखानी र फाखेल हुँदै तथा हेटौँडाबाट पालुङ–नौबिसे हुँदै काठमाडौँ पुग्न सकिन्छ ।
त्यसै गरी हेटौँडाबाटै कान्ति लोकपथ हुँदै र बर्दीबास–हेटौँडा–नारायणगढ–मुग्लिङ हुँदै काठमाडौँ पुग्न सक्ने उनले बताए ।
वि.सं २०७२ मा जापानी सहयोग नियोग (जाइका) द्वारा बीपी राजमार्ग जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको १.१ बिलियनको लागतमा उक्त राजमार्ग निर्माण गरिएको थियो ।
आर्थिक वर्ष २०५३/५४ बाट उक्त राजमार्गको निर्माण शुरु गरिएको थियो भने २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाललाई हस्तान्तरण गरेको थियो ।
